फिरन्ते शेर्पाको कथा

शनिबार जेठ ३२, २०८२/ Saturday 06-14-25
Paschim Today

दीर्घराज उपाध्याय 
एक समय थियो, सोलुखुम्बुका शेर्पाको जीवन संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथाको फेदमा बित्थ्यो । चौरी गोठ र खेतीपाती नै उनीहरुको संसार थियो । कतिपयको जुनी त्यही पर रहेको लुक्ला नपुगरै कट्थ्यो ।

समय वदलियो । सगरमाथा चढ्ने विदेशीहरुको लर्को लाग्न थाल्यो । त्योसंग बदलियो चौरीखर्कसंगै त्यहाँका बासिन्दाको दैनिकी । जीवन र सपनाहरु ।

१९२२ मा सगरमाथा आरोहणका लागि आएका बेलायती नागरिक जर्ज मेलोरी र उनका साथी सगरमाथाको शिखरमा कतै हराए । त्यसको ३१ वर्षपछि २९ मे १९५३ मा न्यूजिल्याण्डका एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गरे । पहिलो पटक सगरमाथा आरोहण गर्नेमा उनीहरुको नाम दर्ज भयो । त्यही बेलादेखि सगरमाथा चर्चामा आयो । र, विदेशबाट हरेक वर्ष आरोही आउने क्रम तिब्र भयो । त्योसंगै फेरियो, शेर्पाको जीवन ।

८ डिसेम्बर १९४८ मा पासाङ ल्हामु गाउँपालिका–२ चौरीखर्कमा जन्मिएका लाक्पा छोतार शेर्पाका लागि पनि चौरीखर्क नै संसार थियो । वाल्यकालमा उनले चौरीखर्क भन्दा पारी गाउँ होला सम्म सोचेका थिएनन् ।

चौरीखर्क गाउँ ठूलो थियो । र, सोलुको केन्द्र पनि । लुक्लामा विमानस्थल बनेपछि चौरीखर्क ओझेलमा पर्दै गयो ।

लाक्पाका बुवा पेम्बा ग्याल्जेन शेर्पा र आमा पासाङ याङ्जिन शेर्पा खेतीपाती गर्थिन । उनीहरु चौरी पनि पाल्थे । छ भाई र चार बहिनीमा लाक्पा जेठा थिए ।

आफू अनपढ भएपनि उनका बुवामा सन्तान पढाउनु पर्छ भन्ने चेत थियो । उनलाई पनि बुवाले महेन्द्रज्योति प्राविमा भर्ना गरे । पाँच कक्षा पढेपछि उनी पढ्न छोडेर बुवालाई खेतीपाती र चौरीखर्कमा सघाउन थाले ।

उनका भाईहरुलाई बुवाले पढ्न काठमाण्डौं पठाए । चारै भाई कपन गुम्बामा पढ्न थाले । बुवाआमालाई खेतीपाती र चौरीखर्कमा सघाईरहेका लाक्पा त्यही बेला विदेशी पर्यटकको सम्पर्कमा पुगे ।

र, १४ वर्षकै उमेरमा टे«किङमा होमिए । उनी पहिलो पटक मै सगरमाथा आरोहण टोलीको भरिया बने । उनीहरुको साथमा सन् १९७० मा क्याम्प २ सम्म पुगे । पिठ्युमा १५ किलो भारी । सगरमाथाको उकालो । त्यही भारी र उकालोले उनको जीवन बदल्यो । उनले टे«किङ गरेको सर्टिफिकेट पाए ।

त्यही सर्टिफिकेटका आधारमा उनले टे«किङ कम्पनीमा काम पाए । त्यसपछि सगरमाथाको फेदमा हुर्किएको जीवन उकालो लागीरह्यो निरन्तर । केही समयपछि उनी अन्नपूर्ण टे«किङमा गए । उनले ईन्टरनेशनल टे«किङ कम्पनीमा काम पाए ।

दुई वर्षपछि उनले पहिलो पटक विदेशमा टे«किङको अवसर पाए । १९७२ मा अफगानिस्तानको ७४९२ मिटर अग्लो हिन्दकुश पर्वतमा ईटालियन टीमको टे«किङ सहयोगीका रुपमा जान पाए । उनीसंगै थिए, १८ जना शेर्पा । ४ जना कुक । आरोहीहरुको पहिलो समूह २२ जनाको थियो । दोस्रो समूह २३ जनाको । र, तेस्रो पनि २३ जनाको । एकैपटक तीन टोलीका लागि काम गर्ने अवसर पाए । पारश्रमिक पनि तीन वटै समूहबाट पाए । कपडा, जुत्ता र ज्याकेटको सेट पनि तीन वटा पाए । एउटा टोलीलाई विदाई गरेपछि अर्को टोलीका लागि सामान लिएर उनी हिन्दकुश पर्वतको टे«किङमा जान्थे । दुई वटा समूहलाई विदा गरेपछि उनी तेस्रो समूहसंग फर्किए । जीवनमा यतिधेरै अवसर र खुशी उनले कहिल्यै पाएनन् । पहिलो विदेश यात्रा उनका जीवनमा सबैभन्दा ठूलो खुशी ल्याएर आयो ।

उनलाई काबुलबाट झण्डै गाडीमा १० घण्टाको यात्रापछि हिन्दुकुश पुगेको अझै सम्झना छ । उनी ४५ दिनपछि काबुलबाट पाकिस्तान पुगे । र, त्यहाँबाट जहाजमा काठमाण्डौं ।

त्यसपछि जर्मनी पर्वतारोहणको साथमा उनी १९७४ मा स्वीट्जरल्याण्ड पुगे । त्यहाँ पाँच हप्ता विताएपछि नेपाल फर्किए ।

उनले एकपछि अर्को विदेशको अवसर पाउदै गए । स्वीट्जरल्याण्डपछि उनले अमेरिका आउने अवसर पाए । अमेरिकन पर्वतारोहीको स्पोन्सरमा हरेक वर्ष दुई पटक अमेरिका आउन थाले ।

अमेरिका कति पटक आए । पछि त गन्न छोडिदिए । उनको अनुमान छ, १७ पटक त आए हूँला ।

पर्वतारोहीहरुसंगको घुमघाम र यात्रा त रमाईलो हुन्थ्यो नै । पारिश्रमिक पनि डलरमा पाउथे । पछि उनलाई लाग्यो, यसरी त जीवन कहिलेसम्म चल्छ ? उनी अमेरिकामै बस्न थाले । ८ वर्ष ग्याँस स्टेशनमा काम गरे । केही समय ईण्डीयन रेष्टुरेण्टमा पनि काम गरे ।

सानैमा विहा गरेकी लाक्पाकी पत्नी आङदाकी शेर्पा माईतीमै बस्थिन् । उनी पनि ससुराली बस्थे । ससुरालीबाट विदाई हुदा उनीसंग थिए, एक छोरा, दुई छोरी र पत्नी सहित चार जना । उनका तिनै सन्तानको जन्म शुक्रवार भयो । त्यसैले उनीहरु सबैको नाम पासाङबाट शुरु हुन्छ ।

उनीसंगै जेठी छोरी पासाङ दिकी र छोरा पासाङ दावा अमेरिका आए । उनीहरु न्यूयोर्कमा बस्न थाले । जेठी छोरी नर्स छिन् । कान्छी पासाङ ल्हामु नेपालमै पढ्नि । उतै लुक्ला अस्पतालमा काम गर्न थालिन् । अमेरिका–नेपाल आवात जावत गरिरहने पत्नीको चार वर्षअघि गाउँमा हृदयघातबाट मृत्यु भएपछि भने लाक्पा फिरन्ते भएका छन् ।

अमेरिकाबाट केही समय उनी ईटली पुगे । त्यहाँ हाउस किपिङको काम गरे । त्यसपछि अष्ट्रिया, फ्रान्स, जापान पुगे । केही वर्षअघि श्रीलंका, कम्बोडिया, भियतनाम घुमे ।

हुन् पनि उनका छ भाई मध्ये एक भाई मात्र गाउँमा बस्छन् । बाँकी सबै विदेशमा । कान्छो भाई, सन फ्रान्सिसकोमा बस्छन् । काहिलो भाई लण्डनमा । साहिलो ईटलीमा बस्न थालेको वर्षौ भयो । उतैको पीआर लिईसके । एक भाई स्पेनमा बस्छन् । माहिलो भाई मात्र गाउँमा बस्छन् । उनी भने फिरन्ते । घर छ । बस्ने ठेगाना छैन् ।

पैसा त अचेल गाउँमै पनि छ, भन्छन्, अमेरिका त अमेरिका हो नि । तर उनी गाउँमा आफैले बनाएको भव्य घरमा एक दिन बसेनन् ।

एक साताअघि न्यूयोर्कबाट कोलोराडो आईपुगेका लाक्पाले गोल्डेनको एक रेष्टुरेण्टमा आफ्ना जीवनका आरोह अवरोह सुनाए । जहाँ घुमेपनि राम्रो त नेपाल नै छ । कुराकानीको अन्त्यमा उनले जुलाई १४ मा नेपाल फर्किन लागेको सुनाउन छुटाएनन् ।

उनी फकिर झै लाग्छन् । ईटलीमा राम्रो कमाई हुन्थ्यो । त्यहाँ धेरै समय बसेनन । काठमाण्डौं महाराजगञ्जमा घर जोडे । लुक्लामा उनको पोताला गेष्ट हाउस छ । चौरीखर्कमा एउटा घर छ । एउटा घर र जग्गा छोरीलाई दिए ।

जम्मा गरेको भए त पैसाको थुप्रो हुन्थ्यो, फकिर झै उनले सुनाए, म पैसा जम्मा गर्दैन् । घुम्न र खान पुगेकै छ । जोडेर कसलाई पुगेको छ ।