भारतको केदारनाथबाट फर्किरहेको हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

आइतबार असार १, २०८२/ Sunday 06-15-25
Paschim Today

काठमाडौं : आइतबार बिहान भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरले केदारनाथ धामबाट तीर्थयात्रीहरूलाई गुप्तकाशी बेसमा फिर्ता ल्याइरहेको थियो। 

हेलिकप्टरमा ६ जना वयस्क र एक शिशु सवार थिए। हेलिकप्टर दुर्घटनाको कारण उपत्यकामा अचानक मौसम बिग्रनु भएको बताइएको छ।

उत्तराखण्ड एसडीआरएफले दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा राहुल चौबेले भने,‘आज बिहान हामीले हेली हराएको बारेमा जानकारी पायौँ। जानकारी पाउने बित्तिकै हामीले यसको खोजी र अनुसन्धान सुरु गर्‍यौँ।’ उनले हेलिकप्टरमा पाइलट बाहेक पाँच यात्रु र एक शिशु रहेको जानकारी दिए।  

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।