इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की

बिहीबार असार ५, २०८२/ Thursday 06-19-25
Paschim Today

एजेन्सी इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी सहरहरू अरक र खोन्डुबका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।

अराकमा हेभी वाटर रियाक्टर छ । यो रियाक्टर इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । अरकमा ठुलो मात्रामा हतियार पनि उत्पादन गरिन्छ । 

खोन्दबमा पनि आईआर–४० नाम गरेको हेभी वाटर रिएक्टर । यो पनि इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । यो स्थान अरकबाट लगभग ४० किलोमिटर टाढा छ । अरकलाई जस्तै यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिँदै आएको छ ।

पछिल्लो ६ दिनमा यस इरान–इजरायल युद्धमा २४ इजरायली नागरिक मारिएका छन् । यसैबिच, वासिङ्टनस्थित एक मानवअधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ६३९ पुगेको बताइएको छ । यी आक्रमणमा कम्तीमा पनि १ हजार ३२९ जना घाइते भएको दाबी उसले गरेको छ । 

इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी सञ्चालित आईआरआईबी टिभी सहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । यस समयमा मानिसहरूलाई विद्रोह गर्न आह्वान गरिएको थियो ।

यी ह्याकरहरूले २०२२ मा इरानमा भएको विरोध प्रदर्शनको भिडियोहरू चलाएका थिए । यी भिडियोमा महिलाहरूले आफ्नो कपाल काटिरहेका देखिन्थे ।