शिक्षाबिना आर्थिक र सामाजिक विकास सम्भव छैन : उपेन्द्र यादव

शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि र आत्मनिर्भरताको मुख्य आधार शिक्षामा आमूल सुधारको खाँचो औंल्याएका छन्।

रासससँगको संवादमा अध्यक्ष यादवले भने,‘देश आत्मनिर्भर बन्न शिक्षा प्रणालीमै युगअनुसारको रूपान्तरण गर्नुपर्छ। शिक्षा जीवन उपयोगी र मानिसलाई सक्षम बनाउने खालको हुनुपर्छ।’

उनका अनुसार शिक्षासँगै कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास नगरी आत्मनिर्भर नेपाल बनाउने कुरा केवल नारामै सीमित हुन्छ। ‘हामी कृषिमा आधारित देश हौं, त्यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ,’ उनले भने।

शिक्षाको सुधारबारे थप प्रस्ट्याउँदै यादवले तलदेखि माथिसम्म शिक्षामा आमूल परिवर्तन हुनुपर्ने धारणा राखे। ‘मूल्य र मान्यतामा आधारित शिक्षाबिना आर्थिक र सामाजिक विकास सम्भव छैन’ अध्यक्ष यादवले भने।