पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस

शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बससँगै फसेका २७ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबास स्थित खोलामा पानीको बहाव बढेपछि बसमा सवार यात्रुहरू फसेका हुन् । काठमाडौँबाट दाङ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति १२ बजे सो खोलामा फसेको थियो । 

यात्रुहरूलाई सशस्त्र प्रहरी बलको नम्बर–३१ गुल्मबाट खटिएका डीएसपी विनोद कार्की नेतृत्वको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।  उद्धार सकिएको करिब १० मिनेटमा खोलाले बस बगाएको छ । उद्धार ढिलाइ भएको भएमा मानवीय क्षति हुने जोखिम रहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘सबै यात्रुको अवस्था सामान्य छ ।’