महाकाली कोरिडोर, तीन सय किलोमिटरमा खुल्यो ट्र्याक

बैतडी । सुदूरपश्चिम प्रदेशको दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोरको ४१३ मध्ये करिब तीन सय किलोमिटरममा ट्र्याक खुलेको छ । चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्त्वको महाकाली कोरिडोर सुदूरपश्चिमको विकासका लागि कोसेढुङ्गा मानिएको छ । कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन आयोजना कार्यालयले निर्माण गर्दै छ । आयोजनाले २८१ किलोमिटर पूरा गरेको छ । दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माण गर्दै छ ।
नेपाली सेनाले हेलिकोप्टरबाट छाङरुमा एक्साभेटर पुर्याएर निर्माणको काम अघि बढाएको हो । सेनाले अहिलेसम्म १७ किलोमिटर सडक खनिसकेको छ । सेनाले यो वर्ष मात्रै १।८ किलोमिटर सडक निर्माण गरेको छ । आयोजनाले जिम्मा पाएको कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर गरेर ३३४ किलोमिटर सडक रहेको छ । सोमध्ये हालसम्म २८१ किलोमिटर सडकको ट्र्याक खुलिसकेको आयोजनाका सूचना अधिकारी रामचन्द्र जैसीले बताए । उनले आयोजनाले ९० प्रतिशत काम सकेको बताए ।
कोरिडोरमा चालु आव २०८१र८२ मा थप २० किलोमिटर ट्र्याक खन्ने काम पूरा हुन लागेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जिम्मा पाएकोमध्ये जोगबुडा, डडेलधुराको भागेश्वर र बैतडीको पञ्चेश्वरस्थित रोडीदेवलको भिर र दशरथ चन्द नगरपालिकाको कन्सनीगाडमा कोरिडोरको बाँकी काम सक्न टेन्डरमार्फत निर्माणको काम भइरहेको छ । दार्चुलाको लाली र बैतडीका केही स्थानमा कडा चट्टान भएकाले विस्फोटक पदार्थका लागि स्वीकृति पाइसकेको सूचना अधिकारी जैसीले बताउनुभयो ।
विसं २०६६ देखि दार्चुला–टिङ्कर सडकका नामबाट सुरु भएको योजना २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि यो सडकको नाम महाकाली कोरिडोर भएको हो । सडकको ट्र्याक खोल्न हालसम्म तीन अर्ब ६९ करोड २१ लाख रुपियाँ खर्च भइसकेको छ । एक अर्ब ५२ करोड रुपियाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ । कोरिडोर पूरा गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
न्यून बजेटमा पनि कालोपत्रे सुरु
महाकाली कोरिडोरमा आगामी आव २०८२र८३ का लागि २२ करोड ९७ लाख रुपियाँ बजेट रहेको सूचना अधिकारी जैसीले बताए। उनले चालु आवमा ४१ करोड रुपियाँ खर्च भए पनि आगामी आवका लागि न्यून बजेट रहेको बताए । न्यून बजेटमा पनि कोरिडोरको ट्र्याक खोल्ने कामसँगै कालोपत्रेको काम पनि अघि बढेको उहाँले बताउनुभयो । ट्र्याक खुलेको २८१ किलोमिटरमध्ये डडेलधुरामा ३।४ किलोमिटर र दार्चुलामा एक किलोमिटर कालोपत्रे गरिएको छ भने एउटा पुलसमेत निर्माण गरिएको छ । कोरिडोरमा कुल ३५ वटा पुल निर्माण हुने छन् । जसमध्ये कञ्चनपुरमा पाँच वटा, डडेलधरामा १० वटा, बैतडीमा १० वटा र दार्चुलामा नौ वटा पुल रहने छन् ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नम्बर १ सम्म निर्माण हुने यस सडक योजनाबाट व्यापार मात्रै नभई कैलाश मानसरोवर भ्रमणका लागि छोटो बाटो हुने छ । कोरिडोरले सुदूरपश्चिमका चार जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा टेवा पुग्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।
तपाईको प्रतिक्रिया