कैलालीमा ड्राइभिङ तालिम सम्पन्न

कैलाली। कैलालीको गौरीगंगा नगरपालिकामा विपन्न तथा बेरोजगार युवा लक्षित ४५ दिने ड्राइभिङ तालिम सम्पन्न भएको छ ।
सुनपाल सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा मनकामना ड्राइभिङ सेन्टरको आयोजनामा तालिम सम्पन्न भएको हो । ४५ दिन सम्म संचालन भएको तालिममा २१ युवा र १ जना युवती सहभागीता रहेको थियो ।
तालिमले आत्मनिर्भर र पेशागत रुपमा जिम्मेवार बोध भएर सडक सुरक्षा ट्राफिक नियमको पालना गर्न सवारीसाधनको संचालनमा ध्यान दिनुपर्ने बिषयको राम्रोसँग जानकारी र सिकाई भएको तालिमका सहभागी हेमन्त बहादुर ताडीले बताएका थिए । वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले समुदायका आर्थिक सामाजिक बाताबरणीय अवस्थालाई सुदृढीकरणको आवश्यकता अनुरुप समुदाय जिविकोपार्जनमा सामुदायिक वनले कार्य गर्नु पर्नेमा जोड दिएका छन् ।
गौरीगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष आशाराम डगौराले स्थानीय तहमा योजनाको कार्यान्वयनको छनोटमा दबाब आउने तर काम गर्ने समयमा सहभागी नहुने परिपाटी रहेको बताएका छन् । सामुदायिक वनका अध्यक्ष रामबहादुर सुनारले बेरोजगार युवापिढीलाई स्वरोजगारी युक्त सीपमुलक तालिम संचालन गरिएको जानकारी दिएका थिए । मनकामना ड्राइभिङ सेन्टरका संचालक नैनसिंह बिष्टको सभापतित्वमा तालिमको समापन कार्यक्रमको संचालन हरि प्रसाद तिवारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया