प्रतिनिधिसभाबाट पारित भयो बजेटसम्बन्धी आर्थिक विधेयक

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसम्बन्धी आर्थिक विधेयक, २०८२ शनिबार प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । यो विधेयकमा करसम्बन्धी व्यवस्था गरिएको हुन्छ ।

सो विधेयकमाथि पेस भएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरू आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

हरेक वर्ष करका दरहरू हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताए ।

आर्थिक विधेयक, २०८२ माथि परेका सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।