पार्टी भित्रको गुट अन्त्य हुनुपर्छ, मदन भण्डारीको विचार आत्मसाथ गर्नुपर्छ : लेखराज भट्ट

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

सुखड, कैलाली ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन्। मदन भण्डारी फाउण्डेसन कैलालीले सुखडमा आयोजना गरेको 'जनतासँग जबजको सान्दर्भिकता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता, सिद्धान्तको पालना र स्वच्छ प्रतिस्पर्धाको महत्वमा जोड दिए।

नेता भट्टले भने, “हामीले जबज भनिरहेका छौँ, त्यो अनुसार चलिरहेका छौँ कि छैनौँ भन्ने समिक्षा गर्नु आवश्यक छ।” उनले नीति र नेतृत्वमा विवाद नभएको भनिए पनि व्यवहारमा देखिएको असहमति गम्भीर विश्लेषणको खाँचो भएको उल्लेख गरे।

उनले पार्टीभित्र गुटभन्दा टिम निर्माणमा जोड दिनुपर्ने र कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम प्रभावित हुने चेतावनीसमेत दिए। “कैलाली भित्रै किन पार्टीमा एकता छैन? गुट बनाउने कि टिम?” उनले प्रश्न गरे।

कार्यकर्ताबीच र नेताबीच देखा पर्ने अन्तरविरोधलाई  समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने, “भित्तामा तस्बिर टाँसेर मात्रै पुग्दैन, मदन भण्डारीको विचार बुझ्न र आत्मसात् गर्नुपर्छ।”

पूर्व माओवादीमाथि ‘आयातित’ भन्ने आरोपको जवाफ दिँदै उनले गुनासो पोखे, “हामी भारतबाट आएका होइनौँ। जनयुद्ध आवश्यकता थियो, त्यसैले भएको हो। आज पनि म एमालेमा आवश्यकता अनुसार छु।”

उनले सहिदहरूको अपमान नगर्न र आन्दोलनको सम्मान गर्न आग्रह गरे। “ममाथि गाली गर्नुहोस्, तर सहिदलाई आतङ्ककारी भन्नु अपमान हो,” उनले भने।

२०७९ को निर्वाचनतर्फ संकेत गर्दै उनले भने, “इमान्दारिताका साथ मत हालेको भए हामी १० स्थानमा थप जित्थ्यौँ, कांग्रेसभन्दा ठूलो पार्टी हुन्थ्यौँ।” आगामी निर्वाचनसम्म संगठनलाई एकतावद्ध बनाउन उनले आग्रह गरे।

एमालेबाट संगठनको अनुशासन सिक्नुपर्ने उल्लेख गर्दै भट्टले पार्टीभित्र जालझेल नगर्न र निर्वाचित भएपछि समग्र नेतृत्व गर्नुपर्ने धारणा राखे।   चेन अफ कमाण्डमा पार्टी चल्नुपर्छ,” उनले प्रस्ट पारे।

मदन भण्डारी फाउण्डेसन एनजिओ नभई विचार प्रचारको संस्थान भएको बताउँदै उनले प्रधानमन्त्री फाउण्डेसनको संरक्षक रहेको जानकारी दिए। “मदन भण्डारीलाई सम्झनु भनेको उहाँको विचार अनुशरण गर्नु हो,” उनले पुनः दोहोर्याए।