दार्चुलाका किसानलाई रोपाईको चटारो

शनिबार असार १४, २०८२/ Saturday 06-28-25
Paschim Today

दार्चुला । हिमाली जिल्ला दार्चुलाको धान रोपाई हुने भु–भागका किसानलाई यतिबेला रोपाई गर्ने चटारो चलिरहेको छ। यहाँका किसानले जेठको अन्तिम साता देखी रोपाई गर्न सुरु गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए । 

जिल्लाको चौलानी भेगतिरबाट किसानहरुले यसवर्षको रोपाई सुरु गरेको उनले बताए । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल २९ हजार ५४४ हेक्टर क्षेत्रफल जमिन मध्ये ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको उहाँले जानकारी दिए।

धान रोपाई हुने क्षेत्रफल मध्ये असारको ८ गते सम्म ७०० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भई १५ दशमलव ८३ प्रतिशत रोपाई भएको उनले बताए । जिल्लाको उच्च हिमाली भेग बाहेकका सबै ठाउँहरुका किसानहरुले धान रोपाई गर्ने गरेका छन् । 

दार्चुलामा सुख्खा–३ र लोकल जातको धान उत्पादन हुने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । यहाँको रैथाने धानबालीलाई लोकल जात भनेर भन्ने गरिएको उनले बताए । जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात ९ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिंचाईको पहुँचमा रहेको बताइएको छ । खेतीयोग्य जमिन २९ हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये २२ हजार ८२५ हेक्टर क्षेत्रफल खेती गरिएको जमिनमा सिंचाईको सुविधा पुगेको छ । 

दार्चुलामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन अर्थात २ दशमलव ८४ प्रतिशत धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यसवर्षको धान दिवस असार १५ गते महाकाली नगरपालिका–५ किम्तडीमा मनाईने कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।