यसवर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आकलन

काठमाडौँ : यसवर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु संक्रमण तीव्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे ।
उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु संक्रमण पुष्टि भएको बताए ।
बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भए पनि रिपोर्ट नदिने कारणले डेंगु संक्रमणको तथ्यांक कम देखिएको उनको भनाइ छ ।
उनले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको जानकारी पनि दिए । डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको भएको उल्लेख गर्दै उनले स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।
तपाईको प्रतिक्रिया