मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेता झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् ।
अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले बताइन् ।
‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन,’ उनले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो ।’
उनले थपिन्, ‘त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’
बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए ।
नेता झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभएपनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराइन् ।
तपाईको प्रतिक्रिया