फूलवारीको नोबल एकेडेमीमा ईसीईसी पद्धतिमा प्री-प्राइमरी कक्षा सञ्चालन

धनगढी: फूलवारीको नोबल एकेडेमीले सुदूरपश्चिम मै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ईसीईसी (प्रारम्भिक बाल शिक्षा तथा संरक्षण) पद्धति अनुसार प्री-प्राइमरी कक्षा सञ्चालनमा ल्याएको छ। विद्यालयले बालबालिकाको प्रारम्भिक सिकाइलाई प्रभावकारी बनाउन विभिन्न सिकाइका विधिहरू र सामग्रीहरूको प्रयोग गरेको छ।
विद्यालयका अनुसार ईसीईसी कक्षामा छ वटा सिकाइ कुनाहरू (लर्निङ कर्नरहरू) स्थापना गरिएको छ, जसमा भाषा, गणित, विज्ञान, कला, ब्लक, र नाट्य खेलका माध्यमबाट बालबालिकाहरूले रमाइलो गर्दै सिक्ने मौका पाउँछन्। साथै, नरम खेलौना, पजल, झिल्के पाना, चार्ट, कविता कुनाहरू, अन्तरक्रियात्मक किताबहरू र मण्टेश्वरी सामग्रीसमेत राखिएको छ, जसले बालबालिकालाई सक्रिय र सहभागी बनाउँछ।
धनगढी उपमहानगरपालिकाकी उप-मेयर कन्दकला कुमारी रानाले उद्घाटन समारोहमा बोल्दै प्रारम्भिक बाल शिक्षा नै आधुनिक शिक्षाको मेरुदण्ड भएको बताइन्। उनले खेल्दै सिक्ने अवधारणाले बालबालिकाको भविष्य उज्ज्वल बनाउनेमा विश्वास व्यक्त गरिन्।
यस्तै विद्यालयले विभिन्न गतिविधिमा आधारित शिक्षण, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान, सरसफाइ, स्वच्छता र सुरक्षाका उपायमा विशेष ध्यान दिएको जनाएको छ। साथै, शिक्षकहरूलाई नियमित तालिम, निरन्तर मार्गदर्शन र मूल्याङ्कनको व्यवस्था मिलाइएको बताइएको छ। विद्यालयका प्राचार्यका अनुसार 'शिक्षक परिवर्तनशील भए मात्र सिकाइ प्रभावकारी हुन्छ' भन्ने विश्वाससहित सिकाइ प्रणाली अघि बढाइएको विद्यालय प्रशासनले जनाएको छ ।
बालमैत्री वातावरण, रमाइलो खेल र सिर्जनात्मक गतिविधिबाट सिक्न पाउने अवसरले बालबालिकाहरूको भाषिक, संज्ञानात्मक, सामाजिक र नैतिक विकासलाई नयाँ उचाइमा पुर्याउने विद्यालयकी प्रिन्सिपल सुश्मा प्रसाईले जानकारी बताइन ।
विद्यालयमा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षक, अभिभावक र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नोबल एकेडेमीको नयाँ प्रयासले फूलवारी क्षेत्रमै गुणस्तरीय प्रारम्भिक शिक्षा उपलब्ध भएको बताए।
तपाईको प्रतिक्रिया