नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

धनगढी, १९ असार ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।

आफ्नो पार्टीका तर्फबाट सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्री रहेका चौधरीलाई हठात बर्खास्त गरेपछि क्रुद्ध भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरीले सरकारबाट बाहिरिने निर्णय गरेकी छन् ।

संघ र प्रदेशमा सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी दुबै ठाउँबाट बाहिरिने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले संघीय सरकारमा पर्यटन राज्यमन्त्री रहेका अरुण चौधरीले भोलि राजीनामा दिने बताएकी छन् ।

उनले नागरिक उन्मुक्ति पार्टी अव प्रतिपक्षमा बस्ने बताईन । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकममा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् ।

पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशमलाल चौधरीले बताए । उनले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आज मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा रुष्ट भएको हो ।