त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा शुरु

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

बैतडी –बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि अषाढी जात्रा शुरु भएको छ । हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । असार शुक्ल अष्टमीको राति भगवतीको बिशेष पूजाआजा हुने उनले बताए । 

अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको स्थानीय आनन्दमणी भट्टले बताए । उनले भने ‘यो जात्रामा भगवतीको सवारी कापडी गाउँ हुन्छ । त्यसपछि कापडी गाउँबाट भगवती माताको फिर्ती सवारी हुन्छ ।’

यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको भट्टले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी सहभागिता रहेको थापाले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारले घोषणा गरेका एकसय पर्यटकीय गन्त्व्यमा समेत पर्दछ । त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।