एनआरएन अस्ट्रेलियाको अध्यक्षमा उमेदवारी दिने सन्तोषको घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका वर्तमान महासचिव सन्तोष कुँवरले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । जुलाई २६ मा हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनका लागि कुँवरले उमेदवारी घोषणा गरेका हुन् ।
ब्रिसबेन निवासी कुँवर नेपालबाट उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । उनी एक दशकअगाडि एनआरएनए अस्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए ।
यसअघि, कुँवर राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१– २३) बनिसकेका छन् ।
उनले करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो विकास र एनआरएनए अस्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा योगदान गरेको बताए ।
"मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन । यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ," उनले भने ।
कुँवरले आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनासमेत तयार पारेको बताए । उनले मुलुकसँग जोडिने र जोड्ने विषयसहित प्रवासी नेपालीको हकहितमा लागिरहने बताए ।
तपाईको प्रतिक्रिया