भदौ १ गतेदेखि बयालपाटा अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

धनगढी, २३ असार ।

भदौ १ गतेदेखि अछामको बयालपाटा अस्पताल सुदूर पश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ ।

बयालपाटा अस्पताल सञ्चालक संस्था न्याय हेल्थ नेपाल र सुदूर पश्चिम प्रदेश सरकारबीच आईतवार यस्तो सम्झौता भएको हो ।

आईतवार न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीबीच हस्तान्तरण प्रकृयाको सम्झौता भयो । हस्तान्तण प्रकृयामा मन्त्री मेघराज खड्का समेत सहभागी थिए ।

सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रमको बूँदा नम्बर ६७ र बजेट वक्तव्यको बूँदा नम्बर १४५ मा बयलपाटा अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने र सो का लागि बजेट बिनियोजन गर्ने उल्लेख गरिएको थियो । 

बजेट वक्तव्यमा साउन १ देखि बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले आवश्यक तयारी नभएका कारण एक महिनापछि देखि सञ्चालन गर्ने गरी न्याय हेल्थ नेपालसंग आईतवार सम्झौता गरेको छ ।

बयालपाटा अस्पताल पर्चीसंगै सम्पूर्ण सेवा, सुविधा, औषधी, शल्यक्रिया र बिरामीको लागि खाना समेत निशुल्क उपलब्ध गराउने देशकै एक मात्र अस्पताल हो ।

बयालपाटा अस्पतालले सुदूर पश्चिमका पहाडी जिल्लाका झण्डै एक लाख बढि बिरामीलाई वार्षिक रुपमा सेवा दिदै आएको छ ।

न्याय हेल्थ नेपालका अध्यक्ष दीक्षितले अस्पतालले प्रदान गर्दै आएको सेवा, सुविधा र उपचारलाई निरन्तरता दिन प्रदेश सरकारसंग आग्रह गरे ।

कोभिडपछि आर्थिक अभावसंग जुध्दै आएको न्याय हेल्थ नेपालले प्रदेश सरकारसंग वार्षिक रुपमा ८ देखि १० करोड माग गर्दै आएपनि सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयका कर्मचारीले बयालपाटालाई बजेट दिनुको साटो असहयोग गर्दै आएका थिए ।

खासगरी सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहले मन्त्री र मुख्यमन्त्रीलाई समेत प्रभावमा पारी बयालपाटा अस्पताललाई बजेट निकासामा अवरोध सृजना गरेको आरोप छ ।
मुख्यमन्त्री र मन्त्रीहरु कर्मचारीका अगाडि लाचार हुदा बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारले सहयोग गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

प्रदेश सरकारबाट सहयोग प्राप्त नभएपछि न्याय हेल्थ नेपाल प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्न बाध्य भएको हो ।

साउनदेखि नै आफ्नो मातहतमा अस्पताल सञ्चालन गर्ने निर्णय गरेको प्रदेश सरकारले बजेट र आवश्यक कर्मचारीको व्यवस्थापन गर्न नसकेका कारण साउन महिनाभरी अस्पतालको बजेट लगायतको सम्पूर्ण जिम्मेवारी निर्वाह गरिदिन न्याय हेल्थ नेपालसंग आग्रह गरेको छ ।

सामाजिक विकास मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालको टीमले एक महिनाको कर्मचारीको तलव बराबर हुन आउने ८५ लाख रुपैया मन्त्रालयलाई सहयोग गर्ने बताएपनि मन्त्रालयले रकम लिने कानूनी व्यवस्था नभएका कारण न्याय हेल्थलाई थप एक महिना अस्पताल सञ्चालन गरिदिन आग्रह गरेको थियो । 

न्याय हेल्थ नेपाल स्वयम आर्थिक संकटमा रहेकोले मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र बोर्ड सदस्यहरुले सो बराबरको रकम व्यक्तिगत रुपमा अस्पताल सञ्चालनका लागि सहयोग गर्ने भएको छ ।

न्याय हेल्थ नेपाल र सामाजिक विकास मन्त्रालयबीच आईतवार भएको सम्झौता अनुसार भदौ १ गते प्रदेश सरकारले बयालपाटा अस्पताल सञ्चालन गर्नेछ ।

अस्पताल सञ्चालनको बिधि, प्रकृया र मोडेल टुंगो नलागेपनि बयालपाटा अस्पताल भदौ १ गतेदेखि सरकारी चिकित्सक र सरकारको दरबन्दीमा कार्यरत स्वास्थ्यका कर्मचारीहरु मार्फत सञ्चालन हुनेछ ।

हाल बयालपाटा अस्पतालका प्रमुख रहेका डा. मन्दीप पाठक लगायत न्याय हेल्थ नेपालद्धारा नियुक्त गरिएका चिकित्सकहरु सहित एक सय २५ जना अस्पतालका कर्मचारी र ६५ जना सामुदायीक स्वास्थ्य कार्यकर्ताको जागीर समेत संकटमा परेको छ ।

यो सम्झौता अनुसार डा. पाठकले समेत भदौ १ गतेदेखि अस्पताल प्रमुखको जिम्मेवारी र जागीर छोड्नु पर्नेछ । 

सम्झौता पत्र :