बाढीसँगै वेपत्ता १८ जनाकाे पहिचान खुल्याे

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाडाैं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीसँगै वेपत्ता भएका १८ जनाकाे पहिचान खुलेकाे छ । बाढीसँगै गोसाइकुण्ड गाउँपालिका-२ मा वेपत्ता भएका १८ जनाको पहिचान खुलेकाे सशस्त्र प्रहरी बलले जनाएकाे हाे ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएअनुसार बाढीसँगै तीन जना प्रहरी वेपत्ता छन् । उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेकाे उनले जनाए ।

थापाले जनाएअनुसार वेपत्ता भएकामा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् ।

यसैगरी, बाढीसँगै वेपत्ता भएका ६ चिनियाँ नागरिकहरूमा यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ हुन् ।

यसैगरी, वेपत्ता हुनेमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ छन् । लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

बाढीसँगै केही वेपत्ता बनिरहेकाे बेला गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा २ शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जसकाे पहिचान भने भइसकेकाे छैन ।