नयाँ चरणमा अघि बढ्दै फाप्ला परियोजना

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौँ — फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया थप अगाडि बढेको छ । वन तथा वातावरण मन्त्रालयले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिले पेस गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई स्वीकृति प्रदान गरेपछि यो निर्माण प्रक्रिया अगाडि बढेको हो । 

ईआईए स्वीकृतिसँगै परियोजनालाई आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जनाए । यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायत सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेकाले फाप्ला परियोजना अब निर्माणतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्रमा प्रवेश गरेको उनको भनाइ छ ।

सरकारको प्राथमिकतामा रहेको फाप्ला खेलग्राम अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको र परियोजनाको निर्माण कार्य अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियाबाट अघि बढाइने शाही जनाउँछन् ।

खेलग्रामअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको ५० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला चरणबद्ध रूपमा निर्माण गरिनुका साथै फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टिस्पोर्ट्स हल, स्पोटर््स म्युजियमलगायतका पूर्वाधारसमेत समावेश गरिने योजना छ ।

धनगढीलाई ‘सिटी अफ क्रिकेट’ को रूपमा अगाडि बढाइएको छ । ईआईए पारित भएपछि परराष्ट्रमन्त्री आरजु राणाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको ईआईए प्रक्रिया सम्पन्न भई सम्पूर्ण कानुनी स्वीकृतिसमेत प्राप्त भएको खबरले उत्साही बनाएको छ । यस परियोजनासँग सम्बन्धित डीपीआरलगायतका सबै प्राविधिक तयारी यसअघि नै सम्पन्न भइसकेका छन् । अब छिट्टै सुदूरपश्चिमवासीको सपनाको रंगशाला, आफ्नै घरआँगनमा बसेर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट हेर्ने आकांक्षा वास्तविकतामा परिणत हुनेमा हामी विश्वस्त छौं ।’

करिब २६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । फाप्ला रंगशाला तथा खेलग्रामको सफल कार्यान्वयनले सुदूरपश्चिम प्रदेशको खेलकुद एवं पर्यटन विकाससहित समग्र देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ ।