स्पेन प्रकरण माथि छानबिन गर्न सीआईबीले बनायो छानबिन समिति

काठमाडौं । हालै स्पेनमा भएको संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालबाट नक्कली कागजपत्र बनाई नेपालीहरू गएको विषयमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी सो कार्यक्रमका नाममा नेपालबाट मानव तस्कर गिरोहले नेपालीहरूलाई नक्कली कागजात बनाई स्पेन पुर्याएको विषय चर्चामा छ ।
संसद्मा प्रधानमन्त्री ओलीसँगै स्पेन गएकाहरू नफर्केको भन्दै कुरा उठेपछि यो विषय सार्वजनिक भएको थियो । पछि प्रधानमन्त्रीको सरकारी टोलीमा नभई विभिन्न गैरसरकारी संस्थाका नाममा नेपालीहरू स्पेन पुगेको खुलेको थियो ।
यो विषयमा छानबिन गर्न सीआईबीले समिति बनाएको हो । सीआईबीका एसएसपी होबिन्द्र बोगटीको संयोजकत्वमा छानबिन बनाइएको सीआईबीका एक अधिकारीले जानकारी दिए । उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म भएको सो सम्मेलनको आसपासमा नेपालबाट स्पेन गएकाहरूको विवरण खोजी, उनीहरू गएपछि फर्के/नफर्केको अवस्था, मानव तस्कर गिरोहलगायतका विषयमा यो समितिले छानबिन गर्नेछ ।
यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार मन्त्रालयमा अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालसहित सुरक्षा अधिकारीहरूसँग यो विषयमा छलफल गरेका थिए । सो छलफलमा छानबिन समिति बनाउने निष्कर्ष निकालिएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
सोही छलफलअनुसार सीआईबीले मंगलबार एसएसपी बोगटीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको हो । बोगटीले आफूलाई समितिको संयोजक बनाइएको बताए ।
तपाईको प्रतिक्रिया