भारतीय नागरिक शुक्लासहित ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्ने पहिलो भारतीय नागरिक शुभांशु शुक्लासहित चार जना अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् । भारत, पोल्याण्ड र हङ्गेरीका गरी चार जना यात्री बोकेको अन्तरिक्ष यान आज प्रशान्त महासागरमा अवतरण भएको बीबीसीले जनाएको छ ।

ह्युस्टन कम्पनी एक्जिओम स्पेस कम्पनीले तीन हप्ताअघि चार जना यात्रीसहित चार्टर्ड उडान प्रक्षेपण गरेको थियो । चार सदस्यीय टोलीले केन्द्रमा ६० वटा बैज्ञानिक परीक्षण गरेकोमा तीमध्ये सात वटा भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोले गरेका परीक्षण हुन् । शुक्लाको एक सीट र तालिमका लागि इसरोले पाँच अर्ब भारतीय रुपैयाँ तिरेको थियो । शुक्ला आइएसएसमा पुग्ने पहिलो र अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय नागरिक बन्नुभएको छ ।

यस अघि सन् १९८४ मा भारतीय नागरिक राकेश शर्माले तत्कालिन सोभियत सङ्घको यानमार्फत अन्तरिक्ष यात्रा गर्नुभएको थियो । इसरोले शुक्लालाई प्राप्त भएको व्यावहारिक अनुभवले भविष्यमा मानवलाई अन्तरिक्ष उडानमा लैजाने योजनामा भारतलाई सहयोग गर्ने बताएको छ । इसरोले भारतको पहिलो मानव अन्तरिक्ष उडान सन् २०२७ मा शुरु गर्न लक्ष्य लिएको छ ।

यस्तै इसरोले सन् २०३५ सम्म एउटा अन्तरिक्ष स्टेशन स्थापित गर्ने र सन् २०४० सम्ममा एक अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने महत्वकांक्षी योजना घोषणा गरेको छ । भारतीय नागरिक शुक्लासँगै दुई युरोपेली देश पोल्याण्डका र हङ्गेरीका नागरिक पनि आफ्नो देशको तर्फबाट चार दशकपछि अन्तरिक्षमा पुगेका हुन् ।