सपिङ मलमा आगो लाग्दा इराकमा ६० जनाको मृत्यु

काठमाडौं । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भयावह आगलागी हुँदा अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् ।
शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छ, तर एउटा अत्यधिक जलेको शवको पहिचान गर्न निकै गाह्रो भइरहेको छ।
इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको जानकारीअनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको थियो। अहिले भने आगो नियन्त्रणमा आएको बताइएको छ।
हालसम्म आगलागीको वास्तविक कारण खुल्न सकेको छैन, तर गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र आगामी ४८ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा शहरको पाँच तल्ले भवन आगोले ढाकिएको छ र दमकलकर्मी आगो निभाउने प्रयासमा जुटिरहेका छन्।
आगलागी पहिलो तल्लाबाट सुरु भई पूरै भवनमा फैलिएको हो। एक प्रत्यक्षदर्शीका अनुसार आगलागी एक एयर कन्डिसनर विस्फोटबाट सुरु भएको थियो।
भवनबाट भीषण आगोको लप्का र धुवाँ निस्किरहेको देखिन्छ, जहाँ फायर फाइटरको टोली आगो निभाउन र मानिसहरूलाई उद्धार गर्न लागि परेका छन्।
इराकको गृह मन्त्रालयका अनुसार सिभिल डिफेन्स टोलीले ४५ भन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन्, तर अझै धेरै जना हराइरहेका छन्।
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले गृह मन्त्रीलाई घटनास्थलमा पुगेर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन्।
घटनापछि पूरा प्रदेशमा तीन दिनको शोक घोषणा गरिएको छ।
तपाईको प्रतिक्रिया