अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

शुक्रबार श्रावण ३, २०८२/ Friday 07-18-25
Paschim Today

दीर्घराज उपाध्याय ।
हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें उससे मिलाने की कोशिश में लग जाती है ।

यो भनाई विश्व प्रसिद्ध उपन्यासकार पाउलो कोएल्होको चर्चित उपन्यास द अल्केमिष्टको ‘ह्वेन यु वान्ट समथिङ्ग, अल द युनिभर्स कन्स्पाईर्स ईन हेल्पिङ यु एचिभ ईट’ को अनुवादित अंश थियो । जसलाई चर्चित बनाए, शाहरुखले । 

‘यदि तिमीले मनबाट केही चाह्यौ भने सारा ब्रह्माण्ड तिमीलाई त्यो दिलाउने प्रयत्नमा लाग्दछ ।’ के साँच्चै होला त ? उनी सोच्थे । 

मनमा थियो, ईञ्जिनियर बन्ने सपना । मुटुमा गढ्यो, शाहरुखको डायलग । 

उनी संसारको भर भने परेनन् । हो, उनले सपना मात्र पछ्याएनन् । मिहिनेत गरे । र त, सपनाले उनलाई पछ्यायो । पुरा गरी छाडे, चिताएको कुरा । ती भाग्यमानी हुन्, धर्मराज उपाध्याय ।  

२०४२ साल चैत २९ गते बझाङको चैनपुर नगरपालिका–७ सुत्यामा जन्मिएका उनी नन्दलाल र धनादेवीका दोस्रो सन्तान थिए । उनीभन्दा पहिले जन्मिएका सन्तानको न्वारान नहुदै मृत्यु भयो । त्यसपछि उनी जन्मिए । उनीपछि तीन भाई, एक बहिनी ।  

बुवाले स्कुल देख्न पाएनन । यद्दपि पढ्न नपाएका बुवामा सन्तान पढाउनु पर्छ भन्ने चेत थियो । बुवाको त्यही चेतले उनी विद्यालय जान पाए । गाउँकै स्कुलमा कखरा सिके । डिलबगरको विद्यालयमा एक देखि चार कक्षासम्म पढे । बाढीले विद्यालय बगायो । उनी पाँच कक्षामा सुवेडाको सुनी पिपलचौर माविमा भर्ना भए । सुत्याबाट विद्यालय ओहोर दोहोरमै दैनिक चार घण्टा लाग्थ्यो । सेती नदीमाथिको झोलुंगे पुल थियो । त्यही पार गरेर उनी स्कुल जान्थे ।

२०५७ साल जेठ महिनामा ८ कक्षाको परीक्षा चल्दै थियो । सेती नदीमा उर्लिएको बाढीले झोलुंगे पुल बगायो । गणित विषयको परीक्षा रोकियो । रोकिएको परीक्षा चैनपुरस्थित बालमन्दिरमा दिए । झोलुंगे पुल बगाएपछि विद्यालय जान सकस भयो । बुवाले उनको पढाई प्रभावित हुन दिएनन् । उनलाई खप्तड हुदै दुई दिन पैदल हिडेर सिलगढी पु¥याए । र चढाए, सिलगढी नाचन्थलीबाट धनगढी जाने बसमा । उनलाई एकजना आफन्तको जिम्मा लगाएर बुवा बझाङ फर्किए । उनी धनगढी पुगे । 

उनी ९ कक्षामा धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालय भर्ना भए । छेउमै थियो, ठूलो बुवाको घर । त्यही बसेर २०५८ सालमा एसएलसी पास गरे । 

प्लस टुमा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहीबाट प्लस टु र स्नातक सके । र, सिद्धनाथ विज्ञान क्याम्पसबाट एमएस्सीको पढाई पुरा गरे । 

विहान क्याम्पस पढ्थे । दिउँसो निजी विद्यालयमा पढाउथे । एसएलसीपछि सिद्धार्थ बोर्डिङ स्कुल जुगेडामा पढाउन थाले । तलब थियो, सात सय ७५ रुपैया । उनी क्याम्पसबाट सोझै विद्यालय जान्थे । साईकलमा ४५ मिनेट लाग्थ्यो । स्नातक पढ्न थालेपछि त्यहाँको जागीर छोडे । स्टोन ब्रिज ईंगलिस स्कुलमा पढाउन थाले । तलव बढेर पाँच हजार पाँच सय रुपैया पुग्यो । डेढ वर्षपछि पुगे, डडेल्धुरा । तुफानडाँडास्थित ज्ञानोदय बोर्डिङ स्कुलमा गणित पढाउन थाले । अनुभवले खारिदै गए । पारिश्रमिक बढ्दै गयो । त्यहाँ उनको तलव नौ हजार पाँच सय रुपैया पुग्यो । क्याम्पस नगएरै स्नातकको परीक्षा दिए । पास भए । सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातकोत्तरमा भर्ना भए । डडेल्धुरा छोडे ।  

२०१० मा स्टेपिङ स्टोन ईंगलिस स्कुमा पढाउन थाले । केही समय क्रिसेण्ट कलेजमा पढाए । प्राईभेटबाट स्नातकोत्तरको परीक्षा दिए । २०१३ मा स्नातकोत्तरको पढाई पुरा गरे । डीभी परेपछि जागीर छोडे । उनको तलव थियो, १२ हजार पाँच सय रुपैया । 

२०१२ मा उनलाई डिभी प¥यो । सेप्टेम्बर २०१३ मा अमेरिका पुगे । गन्तव्य थियो, बोष्टन । बोस्टन पुगे । जहाँ थियो, ठूलो बुवाको परिवार । उनले सेभेन ईलेभनको स्टोरमा काम पाए । पद, सेल्स म्यान । प्रतिघण्टाको पारिश्रमिक १२ डलर ।  

कोजेन डेटा सोलुसन कन्ट्रयाक्ट कम्पनीको अफरपछि करारमा जागीर खान शिकागो गए ।शिकागोमै रहदा उनले जर्जियामा कक्स कम्युनिकेशनमा करारमा जागीर पाए । त्यहाँबाट उनी बोष्टन गए । १४ फेब्रुअरी जर्जिया उडे । उनका साथमा थियो, एउटा क्रेडिट कार्ड । जसमा ८० डलर थियो । र थियो,  श्रीमतीले दिएको २५० डलर ।

जर्जियामा बस्ने कहाँ ? ठेगान थिएन । सबै बन्द भएपनि अमेरिकामा वालमार्ट बन्द हुदैन । कही बास नमिले वालमार्टमा रात बिताउने सोचेका थिए । यद्दपि बोष्टन छोड्नु अघि जर्जियामा भाडाका लागि एउटा घरमा रिक्वेष्ट गरेका थिए । 

जर्जियाका लागि जहाजमा चढ्दै गर्दा उनले मनमनै सोचे, नेपालीको घरमा कोठा मिलोस । दुई हप्तासम्म खाना । दुई हप्तामा सबै चुक्ता गर्नेछु । 

विमानस्थलमा झरे । संयोगले उनलाई त्यही बेला कल आयो । कल गर्ने महिला थिईन । 
तपाईलाई कोठा चाहिएको छ ? महिलाले सोधिन । 
छ,–उनले भने । 
अहिले कहाँ हुनुहुन्छ ? महिलाले अर्को प्रश्न गरिन् ।
प्रत्युत्तरमा उनले भने, बिमानस्थलमा । 

केही मिनेटको कुराकानीमा महिला भाडामा कोठा दिन मात्र सहमत भईनन् । आफ्नो श्रीमानलाई बिमानस्थलमा लिन पठाउने बताईन । कहाँ बस्ने ? अन्यौल थियो । कोठा मिल्ने भयो । ढुक्क भए ।  सम्पर्कको माध्यम मोवाईल थियो । त्यही अफ भयो । एक स्टोरमा चार्ज गरे । एकछिनपछि महिलाले पुनः कल गरिन । व्यस्तताका कारण श्रीमान आउने नसक्ने सुनाईन । र, एक जना भाईलाई पठाईन । राति ११ बजे उनी बिमानस्थलबाट बाहिर निस्के ।   

उनी भोकै थिए । खाना पकाएर घरबेटी पर्खिरहेका थिए । खाना खाए । उनले आफूसंग पैसा नभएको सुनाए । र गरे, दुई हप्तामा कमाएर भाडा तिर्ने प्रतिबद्धता ।

दोस्रो दिन अफिस जानु पर्ने । ४५ मिनेटको बाटो । न गाडी । न खल्तीमा व्यालेन्स । बस चढेर अफिस पुगे । काममा खटिए । सबै खाजा खान गए । उनी भोकै । 

दोस्रो दिन एक जना साथी बनाए । जसले खाजा खुवाए । तेस्रो दिन अर्कै साथीले । यसरी १५ दिन बिते । उनी मिहिनेती थिए । ईमान्दार पनि । जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्थे । उनी पार्ट टाईम जागीरे थिए । हप्तादिनमै फुल टाईमर भए । एक वर्षको करार थियो । 

चार महिनासम्म उनी कसैको सम्पर्कमा रहेनन । यतिसम्म कि बोष्टनमा बस्ने श्रीमती निलमको समेत सम्पर्कमा पनि थिएनन् । चार महिनापछि उनकी श्रीमतीले साथी मार्फत उनलाई सम्पर्क गरिन् । साथीले उनी सकुशल रहेको जानकारी दिए । र, काममा व्यस्त भएकोले शंका नगर्न आग्रह गरे । 
चौथो महिनापछि उनी जर्जियाबाट डेनभर कोलोराडो गए । शुरु गरे, ट्राभल पोर्टको जागीर । त्यहाँ उनले तीन महिना काम गरे । लिड डेटा ईञ्जिनियर एण्ड आर्किटेक्ट ईञ्जिनियरका रुपमा २०१५ सेप्टेम्बरसम्म त्यहाँ काम गरे ।  

२०१५ को अन्त्यमा सिटी अफ होप मेडिकल सेन्टरबाट अफर आएपछि उनी क्यालिफोर्निया पुगे । जो संसारकै ठूलोमध्येको एक क्यान्सर सेन्टर हो । काम गरेको नौ महिनामा सात पटक उनको पदोन्नती भयो । म्यानेजर भए । त्यसपछि  डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्स । डेटा मेनेजमेण्टको सम्पूर्ण जिम्मेवारी उनले पाएका थिए  ।

प्रतिघण्टा १२ डलरबाट शुरु भएको जागीरे जीवनको शुरुवात । उनी मासिक १५ हजार डलर बुझ्न थालिसकेका थिए । अनुभवले खारिदै गए । पदसंगै उनको सेवा सुविधा थपिदै गयो । 

सेप्टेम्बर २०१९ मा ह्याकनस्याक मेरिडियन हेल्थको अफरमा उनी न्यूजर्सी पुगे । उनले त्यहाँ डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्सको नियुक्ति पाए । उनी २३ वटा अस्पतालको डाटा रणनीति बनाउथे । सम्पूर्ण डाटाको व्यवस्थापन र विश्लेषण गर्थे । झण्डै २५ मिलियन भन्दा बढिको प्रोजेक्ट उनले लिड गर्थे ।

त्यहाँ मार्च २०२२ सम्म काम गरे । त्यसपछि २०२२ मा युनाईटेड हेल्थ गु्रपमा जोडिए । यो अमेरिकाको ठूलो मध्येको एक हेल्थ केयर कम्पनी मात्र होईन, बीमा कम्पनी पनि हो । विश्वकै पाँचौ धनी हेल्थ ग्रुपका रुपमा रहेको युनाईटेड हेल्थ गु्रपमा उनले डाईरेक्टर अफ डेटा म्यानेजमेण्ट अफ एनालिटिक्सको भूमिकामा दुई वर्ष काम गरे । 

त्यहाँ ३० मिलियन डलरको प्रोजेक्टको नेतृत्व गर्ने मौका पाएका उनले कम्पनीको १० मिलियन डलर जोगाए । साथै नयाँ प्रोसेसको आविष्कार समेत गरे । जहाँ उनको मातहतमा १०० भन्दा बढि कर्मचारी काम गर्थे ।

जुन २०२४ मा उनी संघीय सरकार अन्तर्गत रहेको मेरिल्याण्डको सिल्भर स्प्रिङस्थित फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनमा जोडिए । जहाँ उनले आईटी विशेषज्ञ तथा डाईरेक्टरको जिम्मेवारी पाए । अमेरिकामा उनी यो तहमा काम गर्ने संभवत एक्लो नेपाली हुन् । फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन अन्तर्गत ८० हजार कर्मचारी कार्यरत छन् । उनको मातहतमा म्यानेजर र डेभोलपरहरु छन् ।

ईलेक्ट्रोनिक मेडिकल रेकर्डस्(ईएमआर) सिष्टममा उनको दख्खल छ । ईएमआरको नयाँ एप्लिकेशन बनाए । कतिपय एप्लिकेशनको आधुनिकिकरण समेत गरे । 

भनिदैछ, अवको युग आर्टिफिसियसल ईन्टिलिजेन्स (एआई) हो । डाटा साईन्स विना एआईको अस्तित्व नै छैन्, उनी भन्छन्, एआई नै डाटा साईन्समा निर्भर छ । जसको फाउण्डेसन डाटा साईन्स हो ।

डाटा साईन्समा उनी र उनी जस्ता युवाहरुले गरेको अध्ययन, खोज र आविष्कारले एआईको आधार निर्माण गरेको हो । डाटाको सुरक्षा, आधुनिकिकरण, स्टोरेज र उत्कृष्ट भर्सनको खोज तथा अनुसन्धान जारी छ । र त, कार्यालय समयपछि पनि त्यसैमा घोत्लिरहन्छन् । 
..........
कतिपयले भन्छन्, काममा यति व्यस्त भए कि पढाईलाई निरन्तरता दिन पाएन । उनी अपवाद थिए । जागीरसंगै एमबीए र पीएचडीसंगै गरे । त्यो पनि एकै वर्ष ।

कोलोराडोको डेनभरस्थित अमेरिकन एकेडेमी अफ प्रोजेक्ट म्यानेजमेण्टबाट प्रोजेक्ट म्यानेजमेण्टमा मास्टर्स गरे । युनिभर्सिटी अफ फिनिक्सबाट कम्युटर साईन्स र ईनफरमेशन टेक्नोलोजीमा मास्टर्स गरे ।

उनले २०२२ मा एसपोर्ड युनिभर्सिटी एरोजेनाबाट बिजनस एडमिनिष्टे«सनमा एमबीए गरे ।  र, २०२४ मा युनिभर्सिटी अफ कुम्बरल्याण्ड केन्टुकीबाट डेटा साईन्स एण्ड एडभान्स एनालिटिक्स ईन मोडर्न हेल्थ केयर सिष्टममा पीएचडी सके । 

उनीसंग संसारका ख्यातिप्राप्त विश्वविद्यालयहरु हार्वर्ड र स्ट्यानफोर्डको सर्टिफिकेट छ । साथै अमेरिकाका सबैभन्दा ठूलो हेल्थ केयर ग्रुपमा काम गरेको अनुभव पनि । तिनै सर्टिफिकेट र अनुभवले उनलाई संघीय सरकार अन्तर्गत रहेको हेल्थ गु्रपको उच्च ओहोदामा पु¥यायो । उनले सरकारको हेल्थको डाटा सिष्टम मात्र हेर्दैनन । उनले स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण सफ्टवेयर डेभलप गरेका छन् । ईएमआर सिष्टमलाई एडभान्स बनाएका छन् । डाटाको सुरक्षा र आधुनिकिरणका लागि नयाँ फिचरहरु थपे । रिभ्यु र एप्रुभल प्रोसेसलाई सहज बनाए ।

डाटाको सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । ह्याकरहरु सिष्टमभित्रै छिरेर डेटा नियन्त्रणमा लिन्छन् । र, करोडौ डलरको बार्गेनिङ गर्छन् । डाटामाथि नियन्त्रण गुमाउदा हेल्थ केयर ग्रुपहरुले वर्षेनी ठूलो क्षति बेहोर्छन् । 

दुई वर्षअघि उनलाई अमेरिकाको ठूलो मध्येको एक हेल्थ ग्रुपले हायर गरे । पछि थाह पाए, कम्पनीले डेटामाथि नियन्त्रण गुमाएपछि उनलाई हायर गरेको रहेछ । उनले डेटाको सुरक्षाका लागि सिष्टम डेभोलप गरे । र, डेटाहरु रिकभर गरे । 

उनले एपीक, सेर्नर, एलस्क्रिप्टस्, मेडीटेक लगायतका संसारका आधुनिक ईएमआर सिष्टमको कार्यान्वयन गरेका छन् । 

उनी स्वतन्त्र हेल्थ केयर नियामक अमेरिकी संस्था एड्भाईजरी बोर्ड अफ हेल्थ केयर कँग्रेस( ईवीजी)को बोर्ड सदस्य छन् । द ज्वाईन्ट कमिसन हेर्छन् । 

त्यस बाहेक उनी गोल्डन की–द ईन्टरनेशनल सोसाईटी र द नेशनल सोसाईटी अफ लिडरसीप एण्ड सक्सेसको बोर्ड मेम्बर हुन् । सर्वोत्कृष्ट विद्यार्थी मात्र यसको बोर्ड सदस्य हुन पाउने प्रावधान  छ । 
............
उनी त्यो परिवेशमा जन्मिए । जहाँ मान्छेका सपना हुदैनथे । बस्, दुई छाक पेटभरी खान पाए पुग्यो । विद्यालय जान दुई घण्टा हिड्नु पथ्र्यो । परिवारको खर्च जुटाउन उनका बुवाले हिडेरै ब्रह्देव र धनगढीको चक्कर काटेका थिए ।  

कतिपय मान्छे असफलताको दोष आफ्नो भूगोल र परिवेशमाथि थोपर्छन । उनले भूगोललाई दोष दिएनन् । परिवार र परिवेशप्रति उनको गुनासो कहिल्यै रहेन । एसएलसीसम्मको पढाई निशुल्क थियो । एसएलसीपछि पनि उनी परिवारका लागि बोझ भएनन् । पढाईसंगै जागीर शुरु गरे । आफ्नो सम्पूर्ण खर्च आफै जुटाए । बुवाले खर्च पठाउनु परेन । 

डीभीमा अमेरिका पुग्ने नेपालीले सही मार्ग निर्देशक पाउदैनन् । उनलाई पनि सही बाटो देखाउने कोही थिएनन् ।  त्यही कारण नेपालीहरु उवर, ग्याँस स्टेशन, रेष्टुरेण्टमा सिमित हुने गरेको उनको बुझाई छ । उनले पनि शुरुवाती दिनमा सेभेन ईलिभेनको स्टोरमा काम गरे । तर उनी त्यसैमा अल्झिएनन् । उनले काम गरे । संगै पढाईलाई पनि निरन्तरता दिए । जसले उनलाई अमेरिकामा उच्च तहमा पु¥यायो । उनले प्राप्त गरेको सफलतामा उनकी पत्नी निलमको दरो साथ र सहयोग   छ । 

ग्याँस स्टेशन, रेष्टुरेण्ट थुपार्नु मात्र होईन, जिन्दगी । जिन्दगी कसरी बाँच्यो ? व्यालेन्समा बाँच्नु पर्छ । बैंकमा व्यालेन्स भएर के गर्ने ? समाजमा बस्छ । सामाजिक छैन । पैसा कमाएको छ । प्रतिष्ठा छैन् । बंगला छ । पहिचान छैन् । व्याँलेन्स छ । तर डाक्टरले मुख बार्न भनेको छ । त्यो जिन्दगी, के जिन्दगी ? 

जिन्दगी गुजार्ने कि बाँच्ने ? जिन्दगी त बाँच्ने हो, उनी भन्छन्, तर कस्तो जिन्दगी बाँच्ने ? बैभवपूर्ण र कि अभावग्रस्त ? बाँच्नका लागि पनि मिहिनेत त गर्नैपर्छ । 

‘मिहिनेत नगरी राजा बन्न त राजाकै छोरो भएर जन्मिनुपर्छ । बाँकी मान्छेले त राजा बन्न पनि मिहिनेत गर्नैपर्छ ।’ उनले अन्तिममा सफलताको सुत्र सुनाए । 
...............
उर्लिएर बग्ने सेती । त्यही छेउमा उनको घर । सपनामा पनि सेती सुसेल्थ्यो । आँखा खुल्यो कि सेती देखिन्थ्यो । घर छेउमै उनको बुवाको पसल । हटारुको आराम गर्ने । किनमेल गर्ने त्यही पसल थियो । चैनपुर जोड्ने सडक बन्यो । उधुम चल्ने पसलको व्यापार घट्यो । 

डीभीले डो¥याएर सुत्याबाट अमेरिका पुगे । संसारकै ठूला स्वास्थ्य संस्थाहरुको उच्च ओहोदामा रहेर काम गरे । अध्ययन र अवसरका क्रममा थुप्रै  राज्य चहारे । तीन वर्षदेखि फ्लोरिडामा ट्विन्स रिभर छेउमा बस्दै आएका छन् । वस्ती छ, समाजको सुगन्ध छैन् । जहाँ सम्बन्धमा  आत्मियता छैन । बर पिपलका चौतारी छैनन्, मनका भारी बिसाउने । छैनन्, सञ्चो विसञ्चो सोध्ने आफन्तहरु । मूर्दा वस्तीहरु । जहाँ मान्छे छन्, जीवन छैन । सुख छ । खुशी छैन । 

उनी फर्केर बालापन पुग्छन्, जहाँ माछा मार्नुको बेग्लै आनन्द हुन्थ्यो । सम्झनामा बग्छ, सेती नदी । उर्लिएर आउछ, बाहुली गाड ।  

कहाँ सेती नदी ? कहाँ ट्वीन्स रिभर ? नोष्टाल्जिक हुन्छन्, ओहो ! पोल्ने घाम पनि त आफ्नै आँगनको प्यारो । फर्किएर फेरि कहिले पुगिएला सुत्या ? 

सेतीका माछाको स्वाद फ्लोरिडामा खोज्छन् । मिलोस कहाँ ? कहाँ सुत्या ? आगो पैचो लिएर हुर्केको समाज ? कहाँ फ्लोरिडा ? जहाँ मान्छेको मृत्यु सरकारी आँकडामा सिमित हुन्छ । मलामी पाउने भाग्य यहाँ कहाँ ? फेरि पनि यो बैभवले संसारभरीका मान्छेलाई तानिरहेको देख्दा उनी चकित पर्छन् । 
......................
मान्छे कहाँ जन्मियो ? कस्तो परिवार, परिवेश र भूगोलमा ? सफलता त्यसले निर्धारण गर्दैन । असफल मान्छेहरु परिवार, परिवेश र भूगोललाई दोष दिन्छन् । उनी पृथक थिए । उनले कसैलाई दोष दिएनन् । हो, भूगोलले मान्छेको क्षमता र संभावनालाई छेक्न सक्दैन । त्यसको उदाहरण हुन्, उनी । भनिन्छ, हरेक सफल व्यक्तिको पछाडि संघर्षको कथा हुन्छ, संघर्ष बिना सफलताको अस्तित्व हुदैन । उनको सफलता पनि संघर्षको परिणाम हो ।

उनले अभाव झेले । भोक सहे । गलेनन । थाकेनन । भएनन्, बिचलित । उनी अरुले बनाएको बाटोमा हिडेनन् । आफ्नो बाटो आफैले बनाए । र बनाए, पृथक पहिचान । उनलाई ग्याँस स्टेशन थप्ने रहर कहिल्यै जागेन । उनले अध्ययनलाई जीवनको ध्येय बनाए । सिकाईलाई जीवनको पाठशाला । र त, थपे हरेक वर्ष विश्वविद्यालयका सर्टिफिकेटहरु । जसलाई थन्क्याएनन, दराजमा । तिनकै अनुभवमा अमेरिकाको स्वास्थ्य क्षेत्रमा डाटा साईन्समा नयाँ आयामहरु थपिरहे । यो क्रम जारी छ । उनलाई नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो सिकाई, अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध सदुपयोग गर्ने धोको छ । सरकारसंग हरेक नागरिकको स्वास्थ्य अवस्थाका बारेमा सूचना कहिले होला ? स्वास्थ्य संस्थाहरु डिजिटल युगमा कहिले प्रवेश गर्लान ? उनी घोत्लिन्छन् । 

शाहरुखको भनाईमा संसारमा एक मात्र धर्म छ । त्यो हो, कडा मिहिनेत । हो, सपना देखेर मात्र पुरा हुदैन् । त्यसलाई पुरा गर्न मिहिनेत गर्नै पर्छ । शाहरुखलाई फ्लो गर्ने उनी भन्छन्, यु ह्याभ टु वर्क हार्ड । 

शाहरुख जीवनको कठिन घडीमा एक्लै थिए । मुम्बईको भीडमा कस्ले सोधोस ? कसले खोजोस ? भोक, प्यास, अनिन्द्रा उनको साथी थिए । शाहरुखलाई एकदिन शहर नै किनिदिने झोक चलेछ ।
उनलाई पनि त्यस्तै झोक चल्छ, कहिलेकाही ।