बझाङका देउडिया करन खड्काको निधन

शनिबार श्रावण ४, २०८२/ Saturday 07-19-25
Paschim Today

काठमाडौँ  : बझाङका पुराना देउडा खेलाडी (देउडिया) करन खड्काको निधन भएको छ । जयपृथ्वी नगरपालिका–१, निवासी खड्काको ८९ वर्षको उमेरमा निधन भएको हो । गत असार २६ गतेदेखि रक्तचाप उच्च भएपछि उनलाई उपचारका लागि धनगढी लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रत्यक्ष देउडामा सवाल–जवाफ शैलीमा अद्वितीय पकड राख्ने खड्का बझाङ जिल्लाभर चर्चित छन् । स्थानीय मेला, पर्व, प्रतियोगिता र सांस्कृतिक कार्यक्रममा निकै खोजिनेमध्येका एक खड्का देउडा भनेपछि हुरुक्कै हुन्थे । बझाङ मात्रै नभई छिमेकी जिल्ला बाजुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा समेत देउडा प्रस्तुति दिएका खड्काले विभिन्न सम्मान र पुरस्कारसमेत पाएका छन् ।

रोचक र व्यङ्ग्यात्मक तरिकाले टुक्का जोड्दै देउडा सवालजवाफ गर्न खप्पिस खड्का दर्शकलाई मन्त्रमुग्ध बनाउँथे । वृद्ध उमेरमा पनि लठ्ठी टेक्दै उनी जिल्लामा आयोजना हुने प्रायजसो देउडा कार्यक्रममा सक्रिय सहभागी हुन्थे ।

राजनीतिक र सामाजिक चेतनायुक्त सवालजवाफमा पोख्त खड्का २०४३ सालमा तत्कालीन कैलाश गाउँ पञ्चायतका उपप्रधानपञ्चमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी राजनीतिबाट पूर्ण रुपमा अलग भएर देउडाप्रति समर्पित थिए ।

 

खड्काको निधनले मौलिक संस्कृति र मौखिक परम्पराका एक सशक्त प्रतिनिधि गुमाउनुपरेको भन्दै जिल्लावासीहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । संविधानसभा सदस्य अफिलाल ओखेडाले देउडा टुक्कामा श्रद्धाञ्जली लेख्दै भनेका छन्- ‘हौसियालाई हँसाउदाथ्यौ, दुखारी रुवायौ, देउडाको जर्गेना गर्‍यौ, समाजमा सुहायौ ।'

मृतक खड्काको अन्त्येष्टि शनिाबार दिउँसो स्थानीय परम्पराअनुसार बझाङ चैनपुरस्थित सेती नदी आर्यघाटमा गरिने छोरा झरेन्द्र खड्काले बताए ।