प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भेटेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा कुरा भएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याए । उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिए ।
नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको उनले बताए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाका सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन बिनाअवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारी उपस्थित थिए ।
प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाबारे उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो । त्यही अवसरमा चार परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तपाईको प्रतिक्रिया