डडेलधुरामा बैङ्किङ कसुरका मुद्दा बढ्दै

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

डडेलधुरा । डडेलधुरामा बैङ्किङ कसुरका मुद्दा बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १९० वटा मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या अघिल्लो आवको तुलनामा उल्लेख्य रूपमा बढी हो । प्रहरीको तथ्याङ्क अनुसार आव २०७९/८० मा ९९ वटा मुद्दा दर्ता भएका थिए भने आव २०८०/८१ मा १२० वटा मुद्दा थिए ।

दर्ता भएका १९० वटा मुद्दामध्ये १११ वटा मुद्दा फस्र्योट भइसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसार  ७९ वटा अनुसन्धान, मुद्दा दर्ता र अदालती प्रक्रियामा छन् । यीमध्ये आत्महत्या, भवितव्य ज्यानलगायतका मुद्दामा दुई वर्ष कुर्नुपर्ने कानुनी प्रक्रिया हुन्छ ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलु हिंसा, बैङ्किङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबरजस्ती करणी र बालयौन जस्ता मुद्दा छन् । प्रहरीमा एक वर्षको अवधिमा घरेलु हिंसाका ४२ उजुरी आएकामा ३३ उजुरी प्रहरीमा फस्र्योट भएका छन् । अन्यलाई अदालती प्रक्रियामा लगिएको थियो । महिला हिंसाका १४ वटा उजुरी परेकामा सबैको मिलापत्र गरिएको उनले बताए ।

बैङ्किङ कसुरका ३२ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये २० वटा फस्र्योट भइसकेका छन् भने बाँकी १२ मुद्दा विचाराधीन छन् । प्रहरी निरीक्षक विष्टका अनुसार चेक बाउन्स, ऋण असुलीका केस बैङ्किङ कसुरमा पर्छन् । त्यस्तै अभद्र व्यवहारसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये २५ मुद्दा फस्र्योट भइसकेका छन् भने दुई वटा मुद्दा बाँकी छन् । सामान्य झगडा, गालीगलौज, हातपात र सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिविरुद्ध यस्ता मुद्दा दर्ता गरिन्छ । लागुऔषधका ११ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । ती सबै मुद्दा फस्र्योट भइसकेको प्रहरी निरीक्षक विष्टले बताए । प्रहरीको तथ्याङ्क अनुसार गत वर्ष मात्रै डडेलधुरामा झुन्डिएर आत्महत्या गरेका २६ घटना दर्ता भएका छन् । सामाजिक, मानसिक, आर्थिक र पारिवारिक कारण आत्महत्याको कारक हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ । यस्तै आत्महत्या दुरुत्साहनसम्बन्धी चार वटा मुद्दा दर्ता भएका छन् ।

डडेलधुरामा यौनजन्य हिंसाका घटना पनि वृद्धि भएको देखिन्छ । जबरजस्ती करणीका आठ मुद्दा दर्ता भएका छन् । तीमध्ये सात वटा मुद्दा फस्र्योट भइसकेका छन् भने एउटा मुद्दा अदालतको प्रक्रियामा छ । बालयौन दुरुपयोगका चार वटा मुद्दा गत वर्ष दर्ता भएका छन । प्रहरीको तथ्याङ्क अनुसार जिल्लाको भित्री मधेश क्षेत्र आलिताल र परशुराम तथा जिल्ला सदरमुकामको बजार क्षेत्र अमरगढीमा बढी आपराधिक क्रियाकलाप हुने गरेका छन् । प्रहरीले पछिल्ला वर्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताएको छ । 

प्रहरी विद्यालयमा पुग्ने, टोल र समूहमा छलफल आयोजना गर्ने, महिला समूहसँग सहकार्य गर्ने, स्थानीय तहसँग समन्वय गरेर सुरक्षामूलक प्रशिक्षण सञ्चालन जस्ता कार्यक्रम गरिएको प्रहरीको दाबी छ । व्यवहारमा भने यी कार्यक्रमको प्रभावकारिता निकै सीमित देखिएको छ ।