भू- उपयोग क्षेत्र वर्गीकरण नगर्दा दार्चुलाका आठ पालिकामा कित्ताकाट रोकियो

दार्चुला। दार्चुलामा नौगाड गाउँपालिका बाहेकका अन्य ८ स्थानीय तहमा रहेको जमीनको कित्ताकाट रोकिएको छ।स्थानीय तहहरुले भू-उपयोग क्षेत्र वर्गीकरण नगर्दा साउन १ गतेबाट ८ ओटा पालिकाको कित्ताकाट रोकिएको नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीले बताए । भू-उपयोग नियमावली २०७९ को नियम ५ बमोजीम स्थानीय तहको भू -उपयोग परिषदले भू -उपयोग ऐन २०७६ बमोजीम भू उपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने हुन्छ । स्थानीय तहहरुले २०८२ असार मसान्तभित्र भू उपयोग क्षेत्र वर्गीकरण गरिसकेर नापी कार्यालयमा जानकारी गराउनुपर्ने भएपनि नौगाड गाउँपालिका बाहेक अन्य ८ ओटा स्थानीय तहले भू-उपयोग क्षेत्र वर्गीकरण नगरेको नापी कार्यालय प्रमुख धामीले बताए ।
नेपाल सरकारले २ बर्ष पहिले नै स्थानीय तहले भू-उपयोग क्षेत्र वर्गीकरण गर्नुपर्ने प्रावधान जारी गरेको भए पनि जिल्लाका ८ वटा स्थानीय तहले अहिले सम्म भू-उपयोग क्षेत्र वर्गीकरण गरेका छैनन् । जसले गर्दा स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ ।कित्ताकाट रोकिदा सेवाग्राहीहरुलाई भने समस्या भएको छ । अहिलेसम्म नौगाड गाउँपालिकाले मात्रै भू-उपयोग क्षेत्र वर्गीकरण गरेको रिपोट नापी कार्यालयमा बुझाएको कार्यालय प्रमुख धामीले बताए । भु-उपयोग क्षेत्र वर्गीकरण गरेमात्रै अन्य पालिकाहरुको कित्ताकाट खोलिने उनले बताए ।
तपाईको प्रतिक्रिया