निर्मला हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै विभाजित हुँदा परिणाम शून्य
.2025-07-27-12-00-45.jpeg)
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया नाबालिका किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भएको छ । ०७५ साउन १० गते साथीको घर गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
हत्याको सात वर्ष पूरा हुँदा पनि अनुसन्धान अझै शून्य छ । प्रहरी संगठनका लागि सबैभन्दा पेचिलो बनेको निर्मला हत्या अनुसन्धान थप जटिल बन्दै गएको छ ।
निर्मलाको हत्यादेखि नै कञ्चनपुर रहेर अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत रनभुल्लमा छ । पछिल्लो समय त सीआईबी टोली नै कञ्चनपुर जान छाडिसकेको छ । यस बीचमा निर्मलाको हत्या अनुसन्धान गर्न दर्जनौँ प्रहरी अधिकारीलाई अनुसन्धान अधिकृतका रूपमा प्रहरीले प्रहरी प्रधान कार्यालयले खटायो ।
तर, कुनै तथ्य फेला पार्न सकेका छैनन् । यस बीचमा प्रहरी संगठनका आधा दर्जन प्रहरी प्रमुख आईजीपी नै फेरिसकेका छन् ।
यसबीच कञ्चनपुर प्रहरीकै नेतृत्वसमेत नौपटक फेरिसकेको छ । निर्मलाको हत्या प्रकरणमा सुरुवाती अनुसन्धान गर्ने तत्कालीन एसपी डिल्लीराज विष्ट हाल (एसएसपी)बाट अवकाश र सीआईबीबाट खटिएका तत्कालीन डीएसपी हाल (एसपी) अंगुर जीसी नेतृत्वको टोलीले एकजना आरोपितलाई पक्राउ गर्यो ।
निर्मलाको बलात्कारपछि हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेका थिए । तर, सोही कारणले एसपी विष्ट र डीएसपी जीसी आफैँ कारबाहीको भागीदार बन्न पुगे । दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्तमात्रै बनेन, प्रहरी र स्थानीयवासीबीच निरन्तर झडपको अवस्था सिर्जना भयो ।
प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको प्रहरीको गोली लागेर ज्यान गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए । कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो ।
त्यही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित सात जनालाई कारबाही गरिएको थियो । पछि सबै प्रहरी अधिकारीले सफाइ पाए । तर, निर्मला हत्याको अनुसन्धान जहाँको त्यही छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, अनुसन्धानमै खटिने प्रहरी अधिकारीको अनुसन्धान नै विभाजित हुँदा अनुसन्धानले पूर्णता पाउन नसकेको हो ।
अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘‘निर्मलाको अनुसन्धानले टुंगो पाउन जटिल छ । त्यो हाम्रो कारणले नै हो । अनुसन्धानमा खटिएका केही अधिकारी सुरुवाती अनुसन्धान अधिकारीको अनुसन्धान गल्ती देखाउन पक्राउ परेका दिलीप विष्ट होइनन् भन्छन् । तर, नयाँ कुनै पनि ल्याउन सक्दैनन् ।’’
तपाईको प्रतिक्रिया