साउदीको कानुन उलङ्घन गर्ने २२ हजार आप्रवासी पक्राउ

आइतबार श्रावण १२, २०८२/ Sunday 07-27-25
Paschim Today

साउदी : साउदी सरकारले  एक हप्ताभित्र  विभिन्न  क्षेत्रमा आवद्ध २२  हजार  ४०० जना आप्रवासीलाई  पक्राउ  गरेको छ । सरकारको  संयुक्त क्षेत्रीय अभियानको क्रममा साउदी अधिकारीहरूले राज्यभरि बसोबास गरी  श्रम र सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा  पक्राउ गरेको हो ।

सरकारले आवास नियमहरू उल्लङ्घन गरेको आरोपमा १३ हजार ८००, सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा ५ हजार २०० र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ३ हजार ४०० जनालाई हिरासतमा लिएको छ ।  सरकारको आन्तरिक मन्त्रालयको विज्ञप्ति अनुसार १ हजार ६८७ जनाहरू गैरकानुनीरूपमा साउदी अरबमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका हुन्। जसमध्ये ३८५ यमनी , ६१५ इथियोपियाली  र १५ अन्य देशका रहेका छन् । 

साथै ४०  जनालाई अवैध रूपमा विभिन्न राज्यबाट बाहिर निस्कने प्रयास गरेको आरोपमा पक्राउ गरिनुको साथै  १५ जनालाई अवैध काममा संलग्न भएको आरोपमा हिरासतमा राखिएको हो । साउदीमा हाल १८ हजार ३०० उल्लङ्घन गर्नेहरू प्रवर्तन प्रक्रियाबाट गुज्रिरहेका छन्, जसमा १५ हजार ७०० पुरुष र २५  सय  महिला समावेश छन्। साउदी गजडका अनुसार ११ हजार जना देश निकाला भएका छन् भने  थप ११ हजारलाई यात्रा कागजात प्रशोधनका लागि कूटनीतिक नियोगहरूमा पठाइएको छ र ३२  सय जनालाई उडान व्यवस्थाको पर्खाइमा राखिएको जनाएको छ ।

 

अवैधानिक क्रियाकलापमा आबद्ध रहेर काम गर्ने अपराधहरूलाई प्रमुख अपराध मानिने  भएकाले सरकारलाई हटलाइन नम्बरहरूमा  रिपोर्ट गर्न आग्रह गर्दै आएको छ। रिपोर्टका लागि मक्का, रियाद र पूर्वी प्रान्तमा ९११, र बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर समेत उपलब्ध  गराएको छ । 

ठूलो संख्यामा आप्रवासी पक्राउ परेपछि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा कार्यरत नेपालीलाई साउदीको नियम कानुनमा रहेर कार्य गर्न आग्रह गरेका छन्।  उनका अनुसार हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा छन्।