रेशम \ रञ्जिता सम्बन्ध : पार्टी र परिवार दुवै विभाजित

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल थारू नाताले श्रीमान्–श्रीमती हुन् । 

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको जगमा उदाएको नाउपा अध्यक्ष रञ्जिता र संरक्षक रेशमको राजनीतिक सम्बन्ध अब नदीका दुई किनाराजस्तो भएको छ । 

सत्ता राजनीतिमा रूमल्लिरहेका रञ्जिता–रेशम लामो समयदेखि समानान्तर ढंगले चल्दै आएका छन् । पछिल्लो समय उनीहरूले एक–अर्काविरुद्ध कारबाहीको ‘डन्डा’ नै चलाइरहेका छन् । भलै, सामाजिक सञ्जाल फेसबुकमा देखाउनकै लागि भए पनि उनीहरू एकअर्कासँगको फोटोरभिडियो हालेर सम्बन्ध आत्मीय नै रहेको देखाउन खोजिरहन्छन् । रञ्जिता रेशमसँगका तस्बिर पोस्ट गर्छिन् भने रेशम चाहिँ अर्की श्रीमतीसँग टिकटसहितमा देखिइरहन्छन् ।

बुधबारमात्रै संरक्षक रेशम पक्षधरको प्रथम राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्ष पद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय भेलाबाट रेशम पक्षले रञ्जितालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएपछि पहिलो चुनावबाट दोस्रोमा नपुग्दै नाउपा विभाजन भएको छ।

पार्टीको निर्वाचन एवम् अनुशासन आयोगले रञ्जितालाई कारबाहीका लागि मंगलबार पार्टीसमक्ष सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा बुधबारको राष्ट्रिय भेलाले उनलाई हटाउने निर्णय गरेको रेशम पक्षधर नेताहरू बताइरहेका छन् । 

नाउपामा अध्यक्षसहित २१ जना संस्थापक केन्द्रीय सदस्य छन् । जसमध्ये बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जना उपस्थित थिए । राष्ट्रिय भेलामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिनिधिका रूपमा आमन्त्रण गरिएको थियो । 

भेलामा संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा रहेका नाउपाका चारमध्ये तीन सांसद उपस्थित थिए । सुदूरपश्चिम प्रदेशसभामा रहेका सातमध्ये पाँच सांसदहरू पनि उपस्थित थिए । 

राष्ट्रिय भेलाअघि गत आइतबार (साउन ११) बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष रञ्जितालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त बैठकमा १३ जना संस्थापक केन्द्रीय सदस्यहरू उपस्थित थिए । 

त्यसअघि साउन ९ गते केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । तर, अध्यक्ष श्रेष्ठले बहुमत केन्द्रीय सदस्यहरूको माग सुनुवाइ नै गरिनन् ।  बरू वरिष्ठ उपाध्यक्ष रहेका पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइन् ।

केन्द्रीय समिति बैठक बोलाउन दिइएको ‘अल्टिमेटम’ पूरा भएपछि आइतबार बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले रञ्जितालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले श्रेष्ठलाई स्पष्टीकरण सोध्ने जिम्मा पार्टीको अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरालाई दिएको थियो । 

तर, अघिल्लै दिन (शनिबार) रञ्जिताले स्वास्थ्यलाई कारण देखाउँदै पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिएपछि नाउपाको विवाद झन् उत्कर्षमा पुगेको थियो । 

नाउपाले यसअघि ०८१ असार १६ मा रञ्जितालाई संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई नेता चयन गरेको थियो । रञ्जिता कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

पार्टीको राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि रञ्जिताले बिहीबार संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै उनले गंगारामलाई स्पष्टीकरण सोधेकी हुन् । 

रञ्जिताले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेकी छन् । उनले पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकारभन्दा बाहिर गएर गंगारामले साउन ३, साउन ९ र साउन ११ गते बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको स्पष्टीकरण पत्रमा लेखेकी छन् । 

बिहीबार नै रञ्जिताले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् । सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको दाबी गरिन् । 

नाउपा विभाजनको असर बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदा पनि देखियो । जहाँ नाउपाकै सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका छन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले विश्वासको मत दिएका हुन् ।

विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने तर्क रञ्जिताको थियो । पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक आह्वान नै नगरेको उनले बताइन् । 

अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको रञ्जिताको भनाइ छ । तर, बिहीबार नै रेशमले प्रतिनिधिसभा सदस्यसमेत रहेकाआफ्ना बुबा लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएका छन्। 

पहिलो पटक चुनावी प्रतिष्पर्धामा उत्रिएको नाउपाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित सफलता प्राप्त गर्दै तीनै तहका सरकारमा सहभागी हुने अवसर पाएको थियो ।

टीकापुर घटनामा दोषी ठहर भई कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमले नाउपा गठन गरेका थिए । कानुनी रूपमा आफूले दर्ता गर्न नमिल्ने भएपछि उनले श्रीमती रञ्जितालाई अध्यक्ष बनाएर स्थानीय तह निर्वाचन–०७९ को मुखैमा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न लगाएका थिए । 

टीकापुर घटनापछि रेशम फरार भएका थिए । उनी सीमावर्ती भारतीय सहरहरूमा लामो समयसम्म लुकेर बसेका थिए। रेशमले प्रतिनिधिसभा निर्वाचन–०७९ मा भूमिगत रूपमा उम्मेदवारी दर्ता गरेर चुनाव जितेका थिए । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि रेशमले कैलाली प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल उनले जेलमै बिताउनु परेको थियो । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालतको निर्णय सदर गर्दै टीकापुर घटनामा दोषी ठहर गरेको थियो ।

जेलबाटै स्थापना गरेको पार्टीले तीनै तहको निर्वाचनमा पाएको सफलता रेशमका लागि कारागारमुक्त हुने माध्यम बन्न पुग्यो । संघीय सरकार गठनका लागिआवश्यक संख्या पुर्याउन रेशमकोपार्टीका सांसदको मतआवश्यक परेपछि उनलाई आममाफी दिएर जेलमुक्त गरिएको थियो ।