बाघको खोजीमा निस्किएको हात्तीसहितको टोली फिर्ता

शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25
Paschim Today

कञ्चनपुर। कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्ती सहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्ती सहितको टोली शुक्रबार दिउँसो रित्तो हात फिर्ता भएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्ला स्थित बेलौरी नगरपालिका-९ आदर्श नगर र प्रगतीटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्ती सहितको टोली परिचालन गरेको थियो । खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती (लव प्रसाद र सिद्ध प्रसाद) गरी तीन हात्ती सहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । हात्ती सहितको टोलीले प्रगति टोल र आदर्श नगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।  

बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसन सिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताउनुभयो । बाघको खोजीका लागि आएको टोली पनि फिर्ता भएको बताउनु हुँदै अध्यक्ष रानाले जनावर बाट सुरक्षित रहन समय–समयमा वडा कार्यालयले सूचना नै जारी गरेर जनचेतना फैलाउँदै आएको बताए ।

यसअघि गत असार पहिलो साता स्थानीय शंकर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मंगलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्श नगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखा परेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए । 

बुधबार साँझ बेलडाँडीमा बास बसेको हात्ती सहितको टोली बिहीबार राति बेलौरी नगरपालिका(९ कुण्डास्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको थियो । स्थानीय, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा जनप्रतिनिधि सँगै बाघ देखिएको क्षेत्र र वरिपरिको क्षेत्रमा हात्ती लगेर खोजी गरिए पनि नभेट्टाएको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताए । 

शुक्रबार दिउँसो स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी, जनपद प्रहरीबिच भएको छलफलका क्रममा यस क्षेत्रमा चितुवा हुनसक्ने आशङ्का गरिएको उनले बताए । चितुवाले मानवीय क्षति नगर्ने र घरपालुवा, बाख्रा कुकुरमा आक्रमण गर्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको उनले बताए । तर खोजीका क्रममा केही पनि नभेट्टिएपछि चितुवा हुनसक्ने निष्कर्षसहित टोली निकुञ्जको कार्यालयमा फिर्ता भएको उनले बताए ।