एक महिनासम्म पनि स्वीकृत भएन नाउपाका मन्त्रीको राजीनामा

शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25
Paschim Today

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्यो । तर, राजीनामा स्वीकृत हुन सकेको छैन ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो पदबाट राजीनामा दिएका थिए । तर, झण्डै एक महिना हुन लाग्दा समेत उनको राजीनामा स्वीकृत हुन सकेको छैन ।

संसद्मा भने नाउपाका सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा बस्दै आएका छन् ।

यसबीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले दिएको राजीनामा स्वीकृत भए पनि चौधरीको राजीनामा स्वीकृत नभएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपानेले नियुक्ति पाएर सपथ लिएर काम सुरु गरिसकिन् । मन्त्रिपरिषद्मा भएको हेरफेरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपडेट पनि गर्दै आएको छ । यसको विवरण संसद्मा समेत सुनाइएको छ । तर, चौधरीको राजीनामाबारे कतै केही जानकारी गराइएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमो वेबसाइटमा पनि चौधरी राज्यमन्त्रीको हैसियतमा रहेको उल्लेख छ ।