शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । चार दिनसम्म काठमाडौंमा चलेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारसँग शिक्षा विधेयक तुरुन्त पारित गर्न आग्रह गरेको छ ।
‘लाखौं विद्यार्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ,’ निर्णयमा भनिएको छ, ‘यसअघि शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गर्दछ ।’
माओवादी केन्द्रले नेपाल प्रहरीसम्बन्धी विधेयकलाई पनि शीघ्रता दिन माग गरेको छ । ‘नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गर्दछ,’ निर्णयमा लेखिएको छ ।
माओवादी केन्द्रले सहकारी ठगहरूलाई कारबाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गरेको आरोप लगाएको छ । सहकारी पीडितहरूका पक्षमा प्रभावकारी काम नगर्ने सरकारी रबैयाको भर्त्सना गर्दै माओवादीले पीडितहरूको बचत रकम फिर्ता गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।
तपाईको प्रतिक्रिया