सैयाराः विश्वव्यापी रुपमा पाँच सय करोड क्लबमा, नेपालबाट कति ?

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

मुम्बई : बलिउड अभिनेता–अभिनेत्री अहान पाण्डे तथा अनीत पड्डाको फिल्म ‘सैयारा’ ले भारतमा मात्र नभएर नेपालसहित विश्वका अधिकांश देशका हिन्दी फिल्मका दर्शकमाझ तहल्का मच्चाएको छ । पहिलो दुई हप्ता मै ऐतिहासिक आम्दानी गरेको यो फिल्मले तेस्रो सप्ताहन्तमा फेरि एक नयाँ कीर्तिमान राखेको छ । मोहित सूरीको निर्देशनमा बनेको यो फिल्मले गत आइतवार नै भारतभरिको ग्रस कलेक्सनमार्फत तीन सय करोड क्लबमा प्रवेश गरिसकेको थियो ।

 

 

 

प्राप्त ताजा तथ्यांक अनुसार यो फिल्मले मंगलवारसम्म भारतमा मात्र तीन सय ६६ करोड भारतीय रुपैयाँ तथा भारत बाहिर १ सय ३४ करोड भारुसहित विश्वव्यापी रुपमा पाँच सय करोड भारु ग्रस कलेक्सन गरिसकेको छ । यद्यपि, अहिले यो म्युजिकल रोमान्टिक ड्रामाको गति केही कम भएको छ । तर पनि यसले गत सप्ताहन्तमा राम्रो फड्को मारेको थियो । यो फिल्मले १७ दिनमै आफ्नो बजेटको तुलनामा ६ दशमलव ६ गुणा बढी नाफा कमाएको छ । यो फिल्मको आम्दानी वास्तवमै आश्चर्यजनक रहेको छ ।

 

 

 

 

 

रिलिजको १०औँ दिनमा यसले पाँच वटै भाषामा २३ करोड ५० लाख भारु आम्दानी गरेको थियो भने हिन्दी संस्करणबाट १८ करोड भारुको नेट कलेक्सन गरेको थियो । ‘सैयारा’ लाई सन अफ सरदार २, धडक २ तथा महावतार नरसिंहाजस्ता फिल्मका कारण शोहरूमा असर परेको छ । यसकारण यसको आम्दानीमा केही गिरावट देखिएता पनि फिल्म हेर्ने दर्शकको भिड घटेको छैन ।

प्रारम्भिक ट्रेण्डअनुसार, भारतमा सौयाराले तेस्रो आइतवारका दिन २३ करोड ५० लाख भारु नेट कलेक्सन गरिरहँदा नेपालमा भने ९ करोडभन्दा बढी ग्रस कलेक्शन गर्न सफल भएको जानकारी प्राप्त भएको छ । यो फिल्मले साउन १८ गते आइतवार साँझसम्म उक्त आम्दानी गरेको हो । योसँगै ‘सैयारा’ सन् २०२५ मा नेपालमा अहिलेसम्म सर्वाधिक आम्दानी गर्ने विदेशी फिल्म बनेको छ ।

 

यसरी फिल्मको कुल आम्दानी अब पाँच सय करोड भारु पुगेको छ। यसरी यो प्रतिष्ठित क्लबमा सबैभन्दा चाँडो प्रवेश गर्ने शीर्ष १५ बलिउड फिल्मको सूचीमा समावेश भइसकेको छ ।

सैयाराले बजरंगी भाइजान, वार, सुल्तान तथा पद्मावतलाई समेत पछि पारेको छ । ‘सैयारा’ को भारतको आम्दानी अनुसार ३०० करोड क्लबमा प्रवेश कुनै जादु भन्दा कम छैन । ४५ करोड भारुको बजेटमा बनेको यो फिल्म अल टाइम ब्लकबस्टर बन्नेछ भन्ने कसैले पनि कल्पना गरेको थिएन ।

रमाइलो कुरा के छ भने यसले १७ दिनमै आफ्नो बजेटको ६ दशमलव ६ गुणा बढी आम्दानी गरेर ५६६ दशमलव ६७ प्रतिशत नाफा कमाइ गरेर रेकर्ड बनाउन सफल भएको छ ।

महावतार नरसिंह तथा सन अफ सरदार २ बाट यसलाई चुनौती पक्कै मिलिरहेको छ, तर अगष्ट १४ मा ‘वार–२’ को रिलिज अघिसम्म यसले आम्दानी रोकिने कुनै संकेत देखिएको छैन ।