ओली–देउवासहित पुराना नेता आफ्नै कारण कलंकको टीका लगाए

२५ भदौ काठमाडौं ।जेन–जी आन्दोलन उत्कर्षमा पुग्दा पनि प्रधानमन्त्री केपी ओलीको सत्तालिप्सा र हठका कारण उनीसहित समकालीन नेताहरू नै राजनीतिको किनारामा थकेलिएका छन् । जीवनको उत्तरार्धमा उनीहरूले कलंकको टीका लगाएर अपमानपूर्वक बहिर्गमित हुनुपरेको छ ।
देश तहसनहस भइसक्दासमेत परिस्थितिलाई नजरअन्दाज गरेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबैजसो पुराना नेताको राजनीति संकटमा पुगेको छ । समय र परिस्थितिले नेटो काटेपछि मात्रै ओलीले मंगलबार दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए ।
राजीनामापछि पत्नी राधिकासहित ओली ‘भूमिगत’ बनेका छन् । ओलीलाई सरकारको नेतृत्व सम्हाल्न सारथिको भूमिका खेल्दै आएका देउवासहितका पुरानो पुस्ताका नेताहरू राजनीतिको केन्द्रमा फर्किने सम्भावना लगभग अन्त्य भएको छ ।
मुलुक नै रक्त आहालमा डुबेर राज्यविहीनताको अवस्थामा पुग्दा पनि सत्ता हाँकेका ओली र देउवालाई दबाब दिन ती पार्टीका दोस्रो र युवा पुस्ताका नेता पनि चुकेका छन् । जसकारण उनीहरूप्रति नागरिकको भरोसा लगभग समाप्त भएको छ । त्यसो त, एमालेमा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित केही केन्द्रीय सदस्य, प्रदेश र जिल्ला अध्यक्ष, सांसद, पूर्वसांसदसहित नेता–कार्यकर्ताले ओलीलाई तत्काल सरकार छाड्न दबाब दिएका थिए । तर, ओलीले ती आवाजलाई गनेनन् । कांग्रेसभित्र पनि गगन थापा, विश्वप्रकाश शर्माले तत्काल सरकार छाड्न दिएको दबाबलाई देउवाले टेरेनन् । बरु उनले अन्तिम घडीसम्म मन्त्री फिर्ता नबोलाएर प्रधानमन्त्री ओलीलाई साथ दिइरहे ।
देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका ओलीले संवाद, समन्वय र सहकार्यको सट्टा अन्तिम घडीसम्म दम्भ र अहंकार देखाइरहे । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध एक्कासि जनमत बढिरहँदा उनले उल्टै राष्ट्रियताको मुद्दासँग जोडेर जेन–जी पुस्ताको माग र चाहनाविपरीत अभिव्यक्ति दिए । जेन–जीलाई ‘मागी खाने भाँडो’ भनेर अपमानित गरे ।
सर्वत्र परिस्थिति बिग्रिएपछि मात्रै प्रधानमन्त्रीले ‘संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका लागि’ भन्दै राजीनामा दिएका हुन् । ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारै स्वीकृत गरेका छन् । पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि जिम्मेवारी सम्हाल्न भनेका छन् ।
पछिल्लो समय सरकारमा नरहेको भएपनि माओवादी अध्यक्ष प्रचण्ड, एकीकिृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालप्रति पनि जनआक्रोश देखिएका छ । उनीहरू पनि अब सत्ता राजनीतिको केन्द्रमा नदेखिने आकलन छ ।
तपाईको प्रतिक्रिया