सुदूरपश्चिमा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् ।

बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सयजनासहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए ।

कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरु कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर ननिस्किएको बताए ।

उनीहरु अहिले पनि कारागारमै बसिरहेका छन् । जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी बाहेकका प्राय: जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।