आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, १२ शव आफन्तले बुझे

शनिबार भदौ २८, २०८२/ Saturday 09-13-25
Paschim Today

काठमाडौं २८ भाद्र । सत्ता उलेटफेर गर्ने गरी दुई दिन चलेको जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २१ जना जेन–जी उमेर समूह, नौजना कैदीबन्दी, १८ जना जेन–जीबाहेकका प्रदर्शनकारी, तीनजना प्रहरी गरी ५१ जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा गोली लागेर, जलेर, कुटपिटलगायत कारणले ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीका विनोद घिमिरेले बताए । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराका अनुसार १३ जनाको पोस्टमार्टम भएकामा १२ जनाको शव आफन्तले बुझेका छन्् । शुक्रबार शव बुझेकामध्ये धेरैजसोले पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन् । ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन युवाहरूको समूह शुक्रबार पशुपति आर्यघाटमा पुगेको थियो । 

ज्यान गुमाउनेमध्ये कैयौँको नाम र ठेगाना यकिन हुन नसकेकाले शव अस्पतालमा रहेको उनले बताए । ‘अझै केहीको शव पोस्टमार्टम गर्न बाँकी छ । कतिपयको आफन्त सम्पर्कमा आउनुभएको छैन,’ उनले भने । 

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा देशभर एक हजार ७६० जना घाइते भएका थिए । ३२२ घाइते उपचाररत छन् भने अन्य डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार २३ र २४ भदौमा भएको प्रदर्शनमा गोली लाग्दा सबैभन्दा धेरै ४४२ जना घाइते नजिकैको निजामती अस्पतालमा ल्याइएको थियो ।

त्यस्तै, ट्रमा सेन्टरमा १६९ र एभरेस्ट अस्पतालमा १०९ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । ट्रमा सेन्टरमा ५८ जना अझै उपचाररत छन् । निजामती अस्पतालमा ४८ जना उपचाररत छन् ।

झापास्थित बी एन्ड सी अस्पतालमा ५३ जना उपचाररत छन् । केएमसीमा ३५ र त्रिवि शिक्षण अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ । त्यस्तै, नेपाली सेनाको अस्पताल वीरेन्द्र सैनिकमा २६ जनाको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै घाइतेको नि:शुल्क उपचार भइरहेको र उपचारमा मेडिकल टिम सक्रिय रूपमा लागिरहेको जानकारी दिए ।