वीर अस्पतालमा उपचाररत जेनजी आन्दोलनबाट घाइते थप दुई जनाको मृत्यु

आइतबार भदौ २९, २०८२/ Sunday 09-14-25
Paschim Today

काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो ।

आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

यससँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।