स्वास्थ्य मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुने

काठमाडौं : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ।
मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ। स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए। उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।”
भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए। हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन्। उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।
तपाईको प्रतिक्रिया