कैलाली प्रशासनलाई इसेवाले दियो अटोमेटिक स्क्यानर, सहयोगका सामग्रीबाट सेवा सुरु

सोमबार भदौ ३०, २०८२/ Monday 09-15-25
Paschim Today

कैलाली । 

जेनजी आन्दोलनका क्रमका भएको तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा ठुलो क्षति पुगेको छ । 

भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रशासनमा आगजनी गरिएको थियो । आगजनीबाट ३ वटा भवनमा क्षति पुगेको छ भने प्रशासनको पुरानो भवन जलेर ध्वस्त भएको छ ।

कार्यालयमा क्षति पुगेपछि नागरिकता बनाउने लगायतका महत्त्वपूर्ण कामहरू रोकिएका थिए । तर, सहयोगी संघ संस्थाहरूले आवश्यक  सामाग्री उपलब्ध गराएपछि अहिले प्रशासनले सेवा सुरु गरेको छ ।

यस क्रममा इसेवा धनगढी शाखाले अटोमेटिक स्क्यानर मेसिन उपलब्ध गराएको छ । 

‘स्क्यानर मेसिन नहुँदा काम प्रभावित भइरहेको थियो । इसेवाले उक्त मेसिन उपलब्ध गराएपछि सेवा प्रवाहमा सहज भएको छ ’ सूचना अधिकारी शिवराज जोशीले भने ‘सहयोगीहरूको साथले हामीले सेवा सुरु गरेका छौँ । ’

इसेवा धनगढीका प्रमुख महेन्द्र शाहीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटोमेटिक स्क्यानर उपलब्ध गराएको जानकारी दिए ।  प्रमुख शाहीले सूचना अधिकारी जोशीलाई मेसिन हस्तान्तरण गरेका थिए । 

इसेवा जस्तै यहाँका विद्यालय र व्यवसायीहरूले पनि आवश्यक सामाग्रीहरू जिल्ला प्रशासनलाई उपलब्ध गराएका छन् ।

 

अहिलेसम्म एरिष्टो,एक्सिस र ग्यालेक्सी बोडिङ स्कुलले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । नास्ट, एसपिए कलेज, एडुपल, प्रहरी पब्लिक व्याडमेन्टिन क्लब, आलोक फर्निचर,  कम्प्युटर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्स लगायतले पनि प्रशासनलाई सामाग्री उपलब्ध गराएका छन् । 

सहयोगी संस्थाहरूले दिएको  सामाग्रीहरूले प्रशासनको सेवा प्रवाहमा  ठुलो सहजता पैदा गरेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।