पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार राति परेको अविरल वर्षाले मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका रात्रिकालीन गाडीहरू बीचबाटोमै रोकिएका छन् । यस्तै बैतडीबाट गोकुलेश्वरका लागि र गोकुलेश्वरबाट बैतडीका लागि छुटेका गाडी पनि बीचबाटोमै रोकिएका छन् ।
राजमार्गमा खसेको पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालय बैतडीसँग समन्वय भइरहेको उनले बताए । यो राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको गोकुलेश्वर, डिलासैनी जाने यातायात बन्द हुन्छ ।
तपाईको प्रतिक्रिया