दार्चुलामा फरार ७१ मध्ये ५८ कैदीबन्दी कारागार फर्किए

बिहीबार असोज २, २०८२/ Thursday 09-18-25
Paschim Today

 

दार्चुला।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला कारागार दार्चुलाबाट फरार भएका ७१ जना कैदीबन्दीमध्ये ५८ जना पुनः कारागार फर्किएका छन्।बाँकी १३ जना भने अझै फरार रहेका छन्।

जिल्ला कारागारका जेलर सरिता चन्दका अनुसार फरारमध्ये दुई जना कैदीबन्दी प्रशासनसँग सम्पर्कमा रहेका छन्। अन्य फरार कैदीबन्दीको खोजीलाई तीव्र पारिएको उनले बताइन्।

खोजी र निगरानी:दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले फरार कैदीबन्दीको हुलियासहित विवरण सुरक्षासम्बन्धी निकायमार्फत देशका विभिन्न स्थानमा पठाइएको जानकारी दिए। “कैदीबन्दीलाई छिट्टै नियन्त्रणमा लिन प्रहरीले निरन्तर निगरानी र खोजी कार्य अगाडि बढाइरहेको छ,”उनले भने।

प्रशासनको आग्रह:फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्तै सम्पर्कमा आउन र कानुनको पालना गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरिसकेको छ।

कारागारको अवस्थाबारे: जिल्ला कारागारमा कुल ७७ जना कैदीबन्दी थिए। आन्दोलनका क्रममा ७१ जना फरार भए पनि ६ जना भने त्यतिबेला कारागारमै रहेका थिए। फरारमध्ये ठूलो संख्यामा कैदीबन्दी फर्किएपछि कारागारमा केही सहजता आएको प्रशासनले जनाएको छ।

स्थानीयवासीका अनुसार अझै फरार रहेका कैदीबन्दी छिट्टै समातिने अपेक्षा गरिएको छ।सुरक्षासम्बन्धी निकायले पनि सीमावर्ती क्षेत्रहरूमा कडाइ गरेको बताइएको छ।