कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26
Paschim Today

धनगढी :  कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।