भुइँ नबिर्सिएका बसन्त
एकनासले गुडिरहेको गाडी । नेपथ्यमा बजिरहेको संगीत । त्यही संगीतको सुरमा स्वर भरिरहेका छन् उनी । हात स्टेयरिङमा छ । उनी भने हराइरहेझैँ लाग्छन्, त्यही गीतभित्र ।
उनी गाइरहेका छन्–
‘टेकेको भुइँ नबिर्स।’
मान्छे जब सत्ता, शक्ति र पैसाको उन्मादमा हुन्छ, तब उसले धेरै कुरा बिर्सिन्छ । टेकेको भुइँ । चढेको बुइँ । बुवाआमा । आफूले हिँडेको बाटो । र, देश पनि ।
सफलताले आकाश छोए पनि भुइँ नछोडेका मान्छेहरू भने विरलै भेटिन्छन् ।
तिनैमध्ये एक हुन्– बसन्त लम्साल ।
स्वयंसेवक बुवाको छोरा
उनी २०२७ साल फागुन २० गते दाङमा जन्मिए । तत्कालीन हिकुली गाविस–५, खलुवाचिसमा लम्सालका दुई दाजुभाइ कहलिएका शिक्षित थिए– जेठा रोमहर्ष र कान्छा भीमकान्त । भीमकान्त र लक्ष्मीका एक छोरा र तीन छोरी चार सन्तान थिए । माहिला सन्तान थिए, उनी ।
बुवा २०२२ सालमै स्नातक थिए । ‘जमिनदारले जागिर खाने?’ अभिमानले छेक्यो । भूमि सुधारमा पाएको जागिर पनि बुवाले खाएनन् । जागिर खाने इच्छा जाग्दा उमेर घर्किसकेको थियो ।जहाँ शिक्षकको आवश्यकता हुन्थ्यो, बुवा त्यहाँ निःशुल्क पढाउन पुग्थे । स्वयंसेवकका रूपमा बुवाले शिक्षा क्षेत्रमा योगदान पु¥याए । पछि बुवाले लिटिल हेभन बोर्डिङ स्कुल खोले । र, केही समय आफ्नै स्कुल चलाए ।
बुवा र ठूलो बुवाको प्रभाव उनमा प¥यो । सानैमा विद्यालय टेके । महेन्द्र माध्यमिक विद्यालयबाट आठ कक्षाको पढाइ पूरा गरे । पढाइमा औसत । तर कविता, गीत र भजनमा हुरुक्क । जहाँ सत्यनारायणको पूजा र कीर्तन हुन्थ्यो, त्यहाँ उनी पुगिहाल्थे । रातभरि गीत गाउँथे । भजनमा रमाउँथे ।
पछि बराह क्षेत्र माध्यमिक विद्यालयमा पढ्न थाले । त्यहाँ शिक्षक रहेका एक जना दाइसँगै बसेर कक्षा ९ र १० पढे । त्यहीँबाट २०४३ सालमा एसएलसी दिए । पहिलो प्रयासमै पास भए ।
कृषिमा रुचि थियो । चितवनको रामपुर कृषि क्याम्पसमा भर्नाका लागि आवेदन दिए । नाम निस्किएन । विकल्पमा आरआर क्याम्पस, काठमाडौंमा आवेदन दिए । नाम निस्कियो ।
तर काठमाडौं गएर आट्र्स पढ्ने मन भएन । भर्नाको म्याद सकियो ।
पढाइ छोड्न भने मन थिएन । जहाँ इच्छा, त्यहाँ उपाय । दाङमा राप्ती विद्या मन्दिरका प्रिन्सिपल घनश्याम डाँगीको कोचिङ सेन्टर थियो । प्रमाणपत्र तहका प्राईभेट तर्फका विद्यार्थी त्यहाँ पढ्थे । प्राईभेटबाट परीक्षा दिने निधो गरेर उनी डाँगी सरसँग कोचिङ पढ्न थाले । बिहान ६ बजेदेखि १० बजेसम्म पढाइ । ३५ जना सहपाठी ।
पहिलो वर्ष निजीबाट परीक्षा दिए । दोस्रो वर्ष महेन्द्र बहुमुखी क्याम्पस, घोराहीमा भर्ना भए । तर कलेज गएनन ।
किनकि त्यसबेला उनलाई अर्को भूत सवार भइसकेको थियो– गायक बन्ने ।
सपनाले बम्बई पु¥यायो
तीन जना साथीसँगै घर छोडे । गन्तव्य थियो– बम्बई ।
तीमध्ये एक साथीका दाइ बम्बईमा वाचम्यान थिए । उनकै साथमा खोलीको बास ।
मोहम्मद रफीका फ्यान थिए उनी । रफीकै गीत गाउँथे । सुन्नेहरू ‘वाह !’ भन्थे । तर ‘वाह’ले पेट भरिँदैनथ्यो ।
जागिर खोजे । सेठले वाचम्यानमा पनि पत्याएनन् । जुँगाको रेखी नपलाएको केटो । उनलाई कसले पत्याउने ?
कहाँ जाने ? कसलाई भेट्ने ? कसले गायक बनाइदिने ? मेसो पाएनन् । विरक्तिए । सपनाले बम्बई पु¥यायो । अभावले घर फर्काइदियो ।
पहिलो गीत, पहिलो खुसी
दोस्रो वर्षको परीक्षा छोडेर बम्बई गएका थिए । संयोगले भूकम्पका कारण परीक्षा सरेको थियो । फर्किंदा परीक्षा आउन अझै एक महिना बाँकी थियो । बेस्सरी पढे । परीक्षा दिए ।
घरमा बसेर नतिजा पर्खिरहेका थिए । त्यहीबेला काठमाण्डौंबाट स्वास्थ्य शिविर सञ्चालनका लागि आएका हाडजोर्नी विशेषज्ञ डा. बिहारीलाल श्रेष्ठसंग उनको भेट भयो । उनी शिविरमा स्वयमसेवकका रुपमा खटिए । फर्किने बेला श्रेष्ठले उनलाई काठमाडौं आउन सल्लाह दिए ।
नतिजा आयो । उनी पास भए । काठमाडौं पुगे । श्रेष्ठलाई भेटे । श्रेष्ठले दिदी नाता पर्ने इन्दिरा याक्थुम्बासँग भेटाइदिए । ज्ञानोदय बालबाटिकाकी प्रिन्सिपल याक्थुम्बाले उनलाई शिक्षकको जागिर दिइन् ।
उता आरआर क्याम्पसमा स्नातकमा भर्ना भए । विषय रोजे– पत्रकारिता र मेजर अंग्रेजी । भीमार्जुन आचार्य र रमेश क्षितिजहरू उनका सहपाठी थिए ।
बिहान छ नबज्दै क्याम्पस पुग्थे । दुई पिरियड पढ्थे । घुम्रिएको ह्यान्डल । पातलो टायर । ओहो ! त्यो साइकलको रफ्तार !
त्यहाँबाट साइकल हुइँक्याउँदै पौने नौ बजे सानेपास्थित शान्त भवन पुग्थे । पौने चार बजेसम्म स्कुल पढाउँथे । स्कुल छुट्टी भएपछि सबै घर जान्थे। उनी भने मारवाडीका विद्यार्थीहरूलाई पढाउन लाग्थे । कोठा पुग्दा रातिको आठ बजिसकेको हुन्थ्यो ।
थकाइ । भोक । निद्रा । कहाँ थियो कुन्नी ? तर गीतको भोक ती सबैभन्दा ठूलो थियो ।
घट्टेकुलोको बास । रमेश क्षितिजहरूको संगत । गीत–संगीतको माहोल ।
२०४९ सालमा रमेश क्षितिजको शब्दमा उनले पहिलो गीत रेकर्ड गरे–
‘छाया बस्ने पीपलको भुइँमा पात झ¥यो।’
रेडियो नेपालमा गीत बज्यो ।
आफ्नै स्वर रेडियोमा सुन्दा उनी दंग परे ।
त्यसअघि नै उनले भ्वाइस टेस्ट नगरी रेकर्ड एउटा गीतका लागि उनको ४ हजार २ सय रुपैयाँ खर्च गरेका थिए । जतिबेला उनको मासिक तलब १ हजार ६ सय रुपैयाँ थियो ।
त्यो खर्च उनलाई कहिल्यै महँगो लागेन ।
किनकि त्यो पैसाले गीत मात्र रेकर्ड भएको थिएन । एउटा सपना रेकर्ड भएको थियो ।
विवाह र जिम्मेवारी
मामाका छोराले विवाहको प्रस्ताव लिएर आए । केटीका बारेमा सुनाए । बसन्तले धेरै सोचेनन् । केटीको हात माग्न एक्लै गए । बुवालाई भेटे ।
‘म तपाईंकी छोरी उषासँग विवाह गर्न चाहन्छु ।’
न डर । न संकोच ।
केटीका बुवा उनको आत्मविश्वासबाट प्रभावित भए । तर शर्त राखे– पढाउने भए छोरी दिन्छु ।
उनले वाचा गरे– ‘पढाउँछु ।’
२०४७ सालमा उषासँग विवाह भयो ।
उषाले भर्खरै एसएलसी पूरा गरेकी थिइन् । विवाहपछि उनलाई लिएर काठमाडौं फर्किए ।
शिक्षकको जागिर । डेराको बास । गायनको सपना । त्यसमाथि थपिएको परिवारको जिम्मेवारी ।
त्यही क्रममा अमेरिकन पीस कोरसँग भेट भयो । पीस कोरको कार्यक्रममा जोडिए । तालिम दिन थाले । हेटौँडा र तनहुँसम्म पुग्थे ।
पीस कोरमा जागिर पाएपछि बालबाटिका छोडे । दुई वर्ष त्यहाँ काम गरे।
२०५० मा दाङ फर्किए । एक वर्ष तुलसी बोर्डिङ स्कुलमा अंग्रेजी पढाए । २०५१ मा मास्टर्स पढ्न काठमाडौं फर्किए । फेरि पीस कोरसँग जोडिए ।
जीवन बदल्ने त्यो एउटा फोन
उनको राजनीतिमा खासै लगाव थिएन । साथीहरूको संगतले नेपाल विद्यार्थी दाङ सम्पर्क समितिको सदस्य बने ।
त्यही क्रममा एउटा पिकनिकमा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कासँग चिनजान भयो ।
तनहुँको खैरनीटारमा पीस कोरको तालिम चलिरहेको थियो । त्यही बेला राष्ट्रिय अनुसन्धानमा निरीक्षकको जागिर खुलेको खबर पाए ।
खुमबहादुर खड्कालाई फोन गरे ।
सोधे,-‘अनुसन्धानमा जागिर खुलेको छ । अप्लाई गरूँ?’
उताबाट जवाफ आयो– ‘गर ।’
संवाद त्यति नै थियो ।
उनले आवेदन दिए । लिखितमा पास भए । अन्तर्वार्ताको समय आयो । त्यही बेला आमा बिरामी भइन् । उपचारका लागि घर जानुपर्ने भयो ।
मनमा संशय थियो ।
फेरि खड्कालाई भेटे ।
‘मेरो त कोही छैन । म हुन्छु कि हुँदिनँ?’
खड्काले भने– ‘हुन्छौ।’
नतिजा आयो । निरीक्षकको सूचीमा उनको नाम थियो ।
आज पनि उनी त्यो सहयोग बिर्सिएका छैनन् ।
भन्छन्, ‘मेरो त कोही थिएन। उनैले बनाइदिए ।’
नपुरिएको युद्धको घाउ
तालिम सकेर बर्दियामा पहिलो पोस्टिङ भयो । त्यसपछि विभिन्न ठाउँमा खटिए ।
२०५७ सालमा सरकारले राष्ट्रिय अनुसन्धानका इच्छुक कर्मचारीलाई नेपाल प्रहरीमा समायोजन गर्ने नीति ल्यायो । उनी प्रहरीमा मिसिए ।
मुलुक माओवादी द्वन्द्वबाट प्रभावित थियो । सुदूरपश्चिम, मध्यपश्चिम र कर्णाली क्षेत्रमा त्यसको प्रभाव झन् बढी थियो ।
एक वर्षको तालिमपछि उनी द्वन्द्व प्रभावित जिल्लाहरूमा खटिए । २०६१ सालमा जुम्ला पुगे ।
माओवादीको पहिलो आक्रमणबाट तहसनहस जुम्लाले तंग्रिन नपाउँदै दोस्रो आक्रमण बेहोरेको थियो । त्यस रात उनी महिला विकास कार्यालयमा सेल्टर लिएका कारण जोगिए ।
आफू त जोगिए । तर दाङमा उनका हेल्थ असिस्टेन्ट ससुराको माओवादीले हत्या ग¥यो ।
एक दिन चन्दननाथ गाविसको लाम्रामा युनिफाइड कमान्डको गस्तीमा थिए । माओवादीको गाउँ जनसरकारको बैठक बसिरहेको सूचना थियो ।
सुरक्षाफौज आएको थाहा पाएपछि माओवादीहरू भाग्न थाले । माथि सेना । तल माओवादी । सेनाले माथीबाट फायर खोल्यो । गोली लागेर केही त्यहीँ ढले । केही तिला नदीको झोलुंगे पुलबाट हामफालेर जोगिए । पुलछेउमा सुरक्षाकर्मीको गोलीबाट एक ज्येष्ठ नागरिकको ज्यान गयो ।
गाउँ जनसरकार प्रमुख भने पक्राउ परे ।
फर्किने क्रममा उनको हत्या गर्ने सेनाका एक लेफ्टिनेन्टको योजना उनले थाहा पाए । उनले गणमा रहेका मेजरलाई वाकीटकीबाट आग्रह गरे– हत्या नगर्न आदेश दिनुस् ।
लम्सालले थपे, ‘उनी निरस्त्र छन् । उनीसँग अरू धेरै सूचना लिन सकिन्छ ।’
फिल्ड कमाण्डरको आदेश मान्न निर्देशन दिदै मेजरले संवाद टुंग्याए ।
उनको आग्रहले काम गरेन । फर्किने क्रममा गाउँ जनसरकार प्रमुखलाई गोली हानी हत्या गरियो । पुल छेउमा मारिएका सर्वसाधारण पनि माओवादीको बिल्ला भिराईयो । त्यो घटना उनको मनमा गहिरो घाउ बनेर बस्यो ।
त्यसपछि उनले जागिर छोड्ने निर्णय गरे ।
केही दिनमा काठमाडौं फर्किए । आतंकवाद नियन्त्रण महाशाखामा तीन महिनाजति काम गरे । केही समय श्रव्यदृश्य शाखामा पनि रहे ।
तर मनमा अब अर्को यात्रा सुरु भइसकेको थियो ।
जागिर छोडेर अमेरिका
काठमाण्डौंमा उनी साडुभाइ र एक साथीको सम्पर्कमा पुगे । उनीहरू अमेरिका अध्ययनका लागि टोफेलको तयारी गर्दै थिए ।
उनीहरुको संगतले बसन्त पनि टोफेल पढ्न थाले । दुई महिनापछि परीक्षा दिए । पास भए ।
संगठनलाई जानकारी नदिई अमेरिका उड्दै थिए । बिदा लिएका थिएनन् । जहाज नउडेसम्म प्रहरी आएर रोक्ला कि भन्ने उनीभित्र डर थियो ।
धन्न, ड्युटीमा खटिएका कसैले चिनेन् । २००६ मार्चमा अध्ययनका लागि उनी अमेरिकाको वेस्ट भर्जिनिया पुगे ।
जीवनको अर्को अध्याय सुरु भयो ।
युनिभर्सिटीको पढाई, छ डलरको जागिर
अपार्टमेण्टबाट माउन्टेन स्टेट युनिभर्सिटी । स्नातकोत्तरको पढाई । व्यवस्थापन संकाय । सहपाठी थिए, नेपालबाटै आएका चिन्तामणि आचार्य ।
शुरुवाती दिनमा साथीहरुको अपार्टमेण्टबाट युनिभिर्सिटी गए । पछि आफ्नै अपार्टमेन्ट लिए ।
कलेजको अनुमतिले व्यवस्थापनका विद्यार्थीलाई काम गर्न पाइन्थ्यो । कलेजले कागज बनाइदियो ।
मोटेलमा पार्टटाइम काम सुरु गरे । प्रतिघण्टा छ डलर पाउँथे । आचार्य पनि उनीसंगै काम गर्थे ।
मोटेलमा आउने एउटा अखबारमा जागिरको विज्ञापन देखे । त्यहाँ दिईएको नम्बरमा फोन गरे । फोनमै अन्तर्वार्ता दिए । अंग्रेजी राम्रो भएकाले छानिए ।
मोटेल छोडे । अमेरिकन फ्रेन्चाइज रेस्टुरेन्ट टर्पिकल स्मुदी क्याफेमा काम सुरु गरे । त्यसका मालिक भारतीय मूलका व्यक्ति थिए ।
सुरुवातमै उनले मासिक तीन हजार डलर पारिश्रमिक पाए । उनले त्यहाँ काम शुरु गरेको आचार्यलाई मन परेको थिएन । आचार्यले काम छोड्न दवाव दिईरहेका थिए ।
त्यहाँबाट विलियम्सबर्गको स्मुदी क्याफे पुगे । नजिकै नवाब इन्डियन कुजिन थियो । कुजिन मालिक अशोक अरोरा त्यहाँ आउँथे । अरोरासंग उनकै त्यही चिनजान भयो । अरोराले कामका लागि अफर गरे । उनले साथीलाई भेटाए । साथीले विलियम्सबर्गको स्मुदी क्याफेमा काम थाले ।
केहीदिनपछि उनलाई पनि काममा बोलाए । अरोराको अर्को रेस्टुरेन्ट वेस्ट भर्जिनियाको नोरफोकमा थियो । घाटामा गएको रेस्टुरेन्टको व्यवस्थापन जिम्मा उनले पाए । घाटाको रेस्टुरेन्टलाई एक वर्षमै नाफामा लगे ।
त्यहाँबाट हप्तामा एक दिन चार घण्टाको यात्रा गरेर कलेज जान्थे ।
सुरुमा मासिक १ हजार ५ सय डलर पाउँथे । पछि १ हजार ८ सय भयो । रेस्टुरेन्टलाई नाफामा पु¥याउँदा पनि पारिश्रमिक बढाउने विषयमा मालिक मौन थिए । अरोराले रेष्टुरेण्टबाट ग्रिनकार्ड दिलाईदिने आश्वासन दिएका थिए । त्यही आश्वासनका कारण उनी त्यति थोरै रकममा चुपचाप काम गरिरहेका थिए ।
ग्रिनकार्डकै लोभमा लामो समय चुप बसिरहन सकेनन् । एक दिन समय लिएरै आफ्नो गुनासो राखे ।
त्यसपछि पारिश्रमिक ३ हजार डलर पुग्यो । त्यो पनि छ महिनाअघिदेखिकै हिसाब गरेर ।
जाईका ब्राण्डको स्थापना
अरोराले २००७ मा रेस्टुरेन्टका तर्फबाट उनको ग्रिनकार्ड अप्लाई गरिदिए । विद्यार्थीको भीसामा आएका उनको स्टाटस एच–वानमा परिणत भयो । २००८ डिसेम्बरमा छोराछोरी सहित श्रीमती उषा अमेरिका आईन ।
अरोराको उनको कामबाट अत्यन्त प्रभावित थिए । जहाँ समस्या हुन्थ्यो, उनी त्यहाँ खट्थे । घाटामा गएको रेस्टुरेण्टलाई उनले छोटो समयमै नाफामा लग्थे ।
कोलोराडोस्थित अजित्रा रेस्टुरेन्टको व्यवस्थापन उनले २०११ देखि सम्हालेका थिए । वेस्ट भर्जिनियाबाट डेनभर आएर त्यसलाई नाफामा लगे ।
पाँच वर्षपछि रेस्टुरेन्ट आफ्नो नाममा गर्ने अरोराको वाचा थियो ।
समय आएपछि उनले वाचा सम्झाए । अरोराले मूल्य मागे– पाँच लाख डलर ।
बाचा बिर्सिएका अरोरासंग सहकार्य टुंग्याउने निर्णय गरे । २०१४ मा अजित्रा छोडे ।
उनले त्यही वर्ष कोलोराडोमा ग्रिनकार्ड पाए ।
ग्रिनकार्ड नहुँदा छ वर्षसम्म नेपाल फर्कन पाएका थिएनन् । त्यसपछि घर फर्किए । र, फर्किएपछि जीवनको अर्को ठूलो जोखिम लिए ।
ब्रुमफिल्डमा बम्बई प्यालेस रेस्टुरेन्ट बिक्रीमा थियो । चार जना नेपाली साझेदारको लगानी रहेको त्यो रेस्टुरेन्ट घाटामा थियो । धेरैको लगानी डुबिसकेको थियो ।
बसन्तले जोखिम लिए । ३५ हजार डलरमा रेस्टुरेन्ट किने । सञ्चालनका लागि थप एक लाख डलर लगाए । नाम बदले । बन्यो– जाईका इन्डियन कुजिन ।
सेप्टेम्बरमा हातमा आएको रेस्टुरेन्टलाई तीन महिनामै नाफामा लगे ।
महिनामा मुस्किलले ९ हजार डलरको व्यापार हुने ठाउँमा उनले पहिलो महिनामै ३५ हजार डलरको व्यापार गरे ।
त्यसपछि रेस्टुरेन्ट थप्दै गए । २०२२ सम्ममा संख्या १२ पुग्यो । जाईका ब्रान्ड बन्यो । रोयल गर्जमा निर्भाना खुले । लिटलटन, क्यासल रक, चेरी क्रिकदेखि कोलोराडो स्प्रिङ्ससम्म रेस्टुरेण्ट विस्तार भयो ।
तर उनी त्यहाँ रोकिएनन् । व्यवसाय बढ्दै जाँदा समाजसँगको उनको सम्बन्ध पनि गहिरिँदै गयो ।
नेपाली घरसँगको सम्बन्ध
२०२० मा उनी कोलोराडोका नेपालीहरुको साझा संस्था नेपाली घरमा आवद्ध भए । नेपाली घरसँग जोडिने श्रेय उनी लक्ष्मण रानालाई दिन्छन् ।
राना नेपाली घरका अध्यक्ष थिए । उनैले बसन्तलाई संस्थामा ल्याए । त्यसअघि उनी कुनै संघसंस्थामा आबद्ध थिएनन् । तर विभिन्न सामाजिक संस्थालाई सहयोग गरिरहन्थे ।
यद्यपि उनी अनौपचारिक रुपमा नेपाली घरको भवनका लागि आर्थिक सहयोग जुटाउन २०१८ मा रानाको नेतृत्वमा श्रीमद्भागवत महायज्ञ आयोजनाका क्रममा जोडिएका थिए । महायज्ञमा एक हजार डलर सहयोग गरेका लम्सालले दुई दिन पाँच सय भक्तजनहरुलाई दुई छाक खाना निशुल्क खुवाए ।
२०२० मा उनी नेपाली घरको महासचिव भए । त्यसपछि उपाध्यक्ष । महायज्ञमा दाताहरूले कबोल गरेको ६ लाख ६० हजार डलर मध्ये ८४ हजार मात्र उठेको थियो । महासचिव र उपाध्यक्ष उनको सक्रियतामा अधिकांश रकम उठ्यो ।
दाताहरुबाट रकम नउठेका कारण घर खरीद प्रकृयामा ढिलाई भयो । रानाको पालामा सुरु भएको प्रकृया जगदीशचन्द्र ढकालको नेतृत्वमा पूरा भयो । त्यतिबेला उनी उपाध्यक्ष थिए ।
घरको मूल्य ९ लाख ५० हजार डलर थियो । संस्थासँग त्यति रकम थिएन । बैंक ऋण दिन तयार भएन । बैंकिङ प्रक्रियामा भोला कटुवालले सहयोग गरे ।
तीन जना जमानी बसे– स्वर्गीय नारायण श्रेष्ठ, योगराज गौतम र बसन्त लम्साल ।
उनले नेपाली घरमा महासचिव, उपाध्यक्ष र अध्यक्षका रुपमा तीन कार्यकाल बिताए । उनकै नेतृत्वमा नेपाली घरको मर्मतसम्भार भयो । पार्किङ लट बन्यो । गजुर राखियो ।
२०२६ मा अध्यक्षको कार्यकाल पूरा गरेर चुपचाप बिदा भए । तर जिम्मेवारीबाट बिदा भएनन् ।
नेपाली घरलाई १५ हजार डलर भन्दा बढी सहयोग गरिसकेका उनको सहयोग गर्ने क्रम जारी छ । हाल हरेक महिना एक सय डलर सहयोग गर्छन् ।
उनी जे गर्छन्, मनैबाट गर्छन् । हल्ला गर्दैनन् । चुपचाप गर्छन् ।
संगीतले उनलाई छोडेन
देश छोडे । पेसा बदले । व्यवसायमा लागे । तर संगीतले उनलाई छोडेन । दुई दर्जनभन्दा बढि गीत गाए । दर्जनौ गीत लेखे । संगीत भरेका गीतहरुको फेहरिस्त पनि लामो छ । ख्यातिप्राप्त गायकहरुको स्वरमा बजिरहने थुप्रै गीतका सर्जक हुन्, उनी ।
संगीत उनको धमनीमा बग्ने रगत जस्तै हो । जोबाट टाढा कसरी हुन सक्थे ? र त गुनगुनाईरहन्छन्, ‘सकिदैन देश भुल्न जहाँ सुकै गए पनि’ । धीत मरे पो ?
बंशजको नागरिकताको निरन्तरता खोजिरहेका गैर आवासीय नेपालीहरुको ‘देशप्रेम’प्रति राज्यकै कस्तो अविश्वास ? त्यो अविश्वास गर्नेहरुलाई उनी गीत मार्फत दिन्छन्, जवाफ । ‘तिमीलाई भन्दा धेरै छ, माटोको माया मलाई’ ।
आत्महत्याका श्रृंखला जब समाचारका सामग्री बन्छन् । कसैका लागि सामग्री मात्र ठानिएका ती पीडादायी खवरले उनी थामिउन कसरी ? जहाँ उनी भाईभतिजाहरुको अनुहार देख्छन् । तव उनी शब्दमा बग्छन् । र गाउछन्, ‘ज्यानै फाल्नु पहिले’ ।
उनले चार वटा एलबम निकाले । ‘साई’ उनको पहिलो एल्बम थियो । ‘भ्यालमा ऐना छ’, दोस्रो हो । तेस्रो निकाले, ‘दोबाटो’ । अमेरिकामा भासिएपछि केही समय मौन बसे । चौथो एल्बम ‘आमा, देश र परिवेश’ मार्फत मौनता तोडे ।
जव देश दुख्छ, उनलाई त्यही दुखाईले पोल्छ भतभती । रुन सक्दैनन् । झार्न सक्दैनन्, आँशु । बग्न नसकेका आँशु शब्दमा पोखिएर बनिदिन्छन्, दुःखका गीत ।
जव देश छोडेर जानेहरुप्रति गुनासो सुन्छन् । कहाँ जाईलाग्नु ? गर्नु कोसंग प्रतिवाद ? उनी शब्दमा पोखिन्छन्, थाहै नपाई । र, तिनै शब्दहरु बनिदिन्छन्, गीत । ‘तिमीलाई भन्दा माटोका माया धेरै छ, मलाई’ ।
फर्किन मन छ, जन्मेको ठाउँ । लडबुडी गर्न मन छ, रमाईलो गाँउ । हराउन मन छ, सुन्दर प्रकृतिको काखमा । मन त छ । सुनाउनु कसलाई । उनी लेखिदिन्छन्, गीत ।
देशभन्दा धेरै टाढा छन् । तर मनमा छ, देश । भुकम्पले बेहाल देश देखे । उनी बेचैन भए । बेचैनी गीतमा पोखियो ।
भन्नेले त भन्छन्, माया हुनेले देश छोड्दैनन् । उनी जवाफ गीत मार्फत दिन्छन् । र गाउछन्, ‘तिमीलाई भन्दा धेरै छ, माटोको माया मलाई’ ।
प्रवासमा एकथरी छन्, पैसाका पछि कुद्ने । पैसा भए पुग्यो । पद, आसन र भासनको रोग नेपालबाटै बोकेर ल्याएका अर्कोथरी छन् । तेस्रोथरी छन्, काम कम, प्रचार बढि गर्ने । आत्म प्रशंसामा रमाउने । साँझ मधुशालामा मस्त हराउने जमात छ एउटा । न देशको चिन्ता । न परदेशको । छैठौं थरी, चुपचाप कर्म गर्ने । न पदको आसक्ति । न चर्चाको भोक । निष्काम कर्मयोगी । उनी त्यही कोटीमा पर्छन् ।
उनी फिल्म बनाउछन् । गीत गाउछन् । पत्नी उषालाई त्यसमा न आपत्ती । न रस । फिल्ममा लगानी डुब्यो, न चिन्ता । न दुःख । यसपटक नडुबोस, पत्नी उषाको सदीक्षा छ ।

असफलताले नरोकिएको फिल्म यात्रा
उनी चार वर्षअघि भलिबल प्रतियोगितामा सहभागी हुन क्यालिफोर्निया पुगेका थिए ।
त्यहाँ डंकी रुटबाट अमेरिका आउने नेपालीहरूको पीडा र संघर्षमा आधारित फिल्मको स्क्रिप्ट सुने ।
कथाले छोयो ।
दाङ र छिमेकी जिल्ला रुकुम तथा रोल्पाबाट डंकी रुट हुँदै अमेरिका आउने युवाहरूको कथाव्यथा उनले नजिकबाट बुझेका थिए ।
त्यही कथाले उनलाई फिल्मतिर तान्यो ।
उनी ‘कर्मा’ चलचित्र निर्माण गर्दै थिए । त्यही क्रममा ‘बा एक योद्धा’को स्क्रिप्ट सुने ।
त्यही बेला दाङमा फिल्म हल बनाउने सोच जन्मियो ।
‘कर्मा’मा चार करोड ५० लाख डुब्यो ।
उनी आत्तिएनन् ।
विचलित भएनन् ।
बरु दाङमा फिल्म हल निर्माणको काम थाले ।
त्यसपछि अढाई करोड लगानीमा ‘बा एक योद्धा’ निर्माणमा जुटे ।
अमेरिकामा रातदिन नभनी काम गरेर कमाएको सात करोडभन्दा बढी रुपैयाँ फिल्म क्षेत्रमा लगाइसकेका छन् ।
अहिले दाङमा झन्डै २० करोड रुपैयाँको लगानीमा ४८० सिट क्षमताको दुई स्क्रिनसहितको क्यूएफएक्स मल्टिप्लेक्स निर्माणाधीन छ ।
यो उनको ड्रिम प्रोजेक्ट हो । एक बहिनी र एक साथी साझेदार छन् ।
कतिले उनलाई मुर्गा भन्लान् । कतिले मूर्ख ।
उनी भने आफ्नो मनले सही ठानेको काम गर्छन् ।
अरूले के भन्छन ? छु मतलब ।
उनी त्यसको हिसाब राख्दैनन् ।
डुब्नुमा पनि पीडा छैन् । एउटा सुटेकश । एक लाख ३५ हजार ऋण लिएर आएको थिए । सर्वस्व सकिएपनि एक लाख ३५ हजार रुपैयासंगै हुनेछ, भन्छन्, मसंग गुमाउनु पर्ने केही छैन् । अनि चिन्ता के को ?
‘अब किन कुद्ने ?’
२०२२ मा उनीसँग १२ वटा रेस्टुरेन्ट थिए । त्यसयता चार वटा बेचिसके । अब आठ वटा छन् । त्यसमध्ये पनि अधिकांशमा साझेदार छन् ।
अचेल उनी नियमित रेस्टुरेन्ट जाँदैनन् । घरबाटै व्यवसाय हेर्छन् । आवश्यक परे मात्र पुग्छन् ।
नयाँ रेस्टुरेन्ट थप्ने सोच छैन । बरु घटाउँदै लगेका छन् ।
किन ?
उनको जवाफ सरल छ–
‘व्यवसायबाट जे–जति एचिभ गर्नुपर्ने हो, गरिसकेँ । अब बाँच्न गाह्रो छैन । किन कुद्ने?’
व्यवसाय विस्तार कसका लागि गर्ने ?
उनको अर्को प्रश्न छ– ‘मेरो पछिको पुस्ता यसमा संलग्न छैन ।’
छोराछोरीले रेस्टुरेन्ट व्यवसायमा रुचि देखाएनन् ।
छोरा उत्सव अटोमोबाइल इन्जिनियरिङमा मास्टर्स सकेर आफ्नै व्यवसायमा संलग्न छन्।
छोरी सन्ध्या पब्लिक हेल्थमा विद्यावारिधि गर्दैछिन् ।
त्यसैले अब संख्या थप्नुमा उनको रुचि छैन ।
संगीतकार । गीतकार । गायक । रेस्टुरेन्ट व्यवसायी । समाजसेवी । फिल्म निर्माता । हल मालिक ।
भूमिका धेरै छन् ।
तर उनी आफूलाई के भनेर चिनाउन चाहन्छन ?
सर्जकका रूपमा ।
पंक्तिकारले सोध्यो–
‘पैसा कि नाम?’
उनले धेरै सोचेनन् ।
भने, ‘नाम।’
पंक्तिकारको अर्को प्रश्न थियो–
‘धेरै बाँच्न चाहनुहुन्छ कि चिनिन ?’
यसपटक पनि उनले धेरै बेर सोचेनन् ।
‘थोरै बाँचे पनि पुग्छ । तर चिनिनुपर्छ ।’– सटीक जवाफ उनको ।
माओवादी द्वन्द्वका बेला प्रहरी थिए । त्यही बेला उनले जिन्दगीको मूल्य बुझे ।
एउटा गोलीले जीवनको फैसला गर्न सक्थ्यो ।
त्यसपछि उनको जीवनप्रतिको दृष्टिकोण बदलियो ।
धनसम्पत्ति बाँचुन्जेलको हो ।
छोडेर जाने कृति बाहेक के छ ?
त्यसैले उनलाई कृति छोडेर जान मन छ ।
भुइँ नछोड्ने मान्छे
आज उनीसँग व्यवसाय छ ।
रेस्टुरेन्ट छन् ।
फिल्म छन् ।
गीत छन् ।
संगीत छ ।
समाजसेवा छ ।
दाङमा निर्माणाधीन मल्टिप्लेक्स छ ।
तीन घर जोडेका छन् ।
५० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् ।
एक समय १२ वटा रेस्टुरेन्टको मालिक बने ।
तर यी उपलब्धिले उनलाई कहिल्यै उचाइको उन्माद दिएनन् ।
अझै पनि उनी आफूलाई त्यही गाउँको बालक सम्झिन्छन्, जो सत्यनारायणको पूजा र कीर्तनमा रातभरि गीत गाउँथ्यो ।
त्यही युवक सम्झिन्छन्, जो गायक बन्ने सपना बोकेर बम्बई पुग्यो र भोकले फर्कियो ।
त्यही प्रहरी सम्झिन्छन्, जसले युद्धको बीचमा जीवनको मूल्य बुझे ।
त्यही विद्यार्थी सम्झिन्छन्, जो छ डलर प्रतिघण्टामा काम गर्दै अमेरिकामा आफ्नो बाटो बनाउँदै थियो ।
त्यही उद्यमी सम्झिन्छन्, जसले ३५ हजार डलरमा घाटाको रेस्टुरेन्ट किने र त्यसलाई ब्रान्ड बनाए ।
र, त्यही नेपाली सम्झिन्छन्, जसले विदेशमा बसेर पनि आफ्नो देश, भाषा, गीत, समाज र माटोलाई मनबाट कहिल्यै अलग गर्न सकेन ।
सायद त्यसैले उनको जीवनको सबैभन्दा ठूलो परिचय उनका रेस्टुरेन्ट होइनन् ।
उनको सम्पत्ति होइन ।
उनको सफलता पनि होइन ।
उनको परिचय हो– भुइँ नबिर्सिएको एउटा मान्छे ।
गाडी अझै गुडिरहेको छ ।
नेपथ्यमा गीत बजिरहेको छ ।
हात स्टेयरिङमै छ ।
तर मन ?
सायद फेरि त्यही गीतभित्र हराइरहेको छ ।
‘टेकेको भुइँ नबिर्स ।’




-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया