भोटेकोशी विपत्ति : हालसम्म फेला परेका शवको संख्या : १,२०४ , उद्धार गरिएको संख्या : ११,९९३
काठमाडौं १८ भाद्र । भोटेकोशी विपत्तिको नवौं दिन । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।
यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म २१ हजार ३ सय १४ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार २ सय १६ जनाको खोजी कार्य भइरहेको छ ।
हालसम्म फेला परेका शवको संख्या : १,२०४
हालसम्म उद्धार गरिएको संख्या : ११,९९३
सम्पर्कविहीनको संख्या : ४,२१६
हालसम्म घाइते संख्या : ३०१
सनाखत भई बुझिलिएको शव संख्या : ९५
हालसम्म परिचालित सुरक्षाकर्मीको संख्या : २१,३१४
होल्डिङ सेन्टरमा रहेकाहरूको संख्या : ३,४५३
- स्रोत: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (बुधबार साँझ ६ बजेसम्मको अद्यावधिक सूचना )







तपाईको प्रतिक्रिया