डडेल्धुरा अस्पतालको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय नियुक्त

शनिबार असोज १७, २०८३/ Saturday 10-03-26
Paschim Today

डडेल्धुरा १७ असोज ।  डडेल्धुरा अस्पतालको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पाण्डेयलाई अस्पतालको अध्यक्ष नियुक्त गरेकी हुन्। मन्त्री मेहताले शुक्रबार पाण्डेयलाई नियुक्तिपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथसमेत खुवाएकी छन्।

डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूर पहाडको एक मात्र अस्पताल हो । एक सय शय्या स्वीकृत रहेको डडेल्धुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पाण्डेयले च्यारिटी हेल्थ फाउण्डेसनको कार्यक्रम निर्देशकका रूपमा सुदूरपश्चिममा एक हजारभन्दा बढी आँखा शिविरको नेतृत्व गरेका छन्। उनको संयोजनमा सुदूरपश्चिमका विकट पालिकाहरूमा २६ वटा आँखा उपचार केन्द्रसमेत स्थापना भएका छन्।

लामो समयदेखि खेलकुद प्रशासनमा समेत काम गर्दै आएका पाण्डेयले आफ्नो तीनवर्षे कार्यकालमा अनुभव, क्षमता र सम्बन्धलाई अस्पतालको सेवा, सुविधा तथा उपचारको गुणस्तर सुधारमा उपयोग गर्ने बताएका छन्।

उनले सुदूरपश्चिमका, विशेषगरी पहाडी तथा विकट क्षेत्रका नागरिकलाई डडेल्धुरा अस्पतालबाट भरपर्दो उपचार सेवा उपलब्ध गराउन आवश्यक पहल र समन्वय गर्ने बताए।