रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ- भदौ १० को बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३.७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।
मंगलबार सार्वजनिक भएको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन 'भविष्यका लागि फरक ढंगले पुनर्निर्माण' मा बाढीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने अनुमान गरिएको छ ।
जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्नेछ । सेवा क्षेत्र पनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट प्रभावित हुने आकलन गरिएको छ । कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सिमित रहने भए पनि प्रभावित क्षेत्रमा जनजीविकामा भने यसको उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ ।
'रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, नेपालले आफ्ना सडक तथा सञ्चार सञ्जाल, ऊर्जा तथा खानेपानी र सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाबारे पुन: विचार गर्ने एउटा अवसर पनि हो,' माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले भन्छन्, 'विशेषगरी जलवायु परिवर्तन र बदलिँदो जोखिमको सन्दर्भमा पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई महत्वपूर्ण स्थान दिन आवश्यक छ ।'
यसअघि एसियाली विकास बैंक(एडीबी) ले पनि चालु आर्थिक वर्षका लागि नेपालको आर्थिक वृद्धि प्रक्षेपण ०.४ प्रतिशत विन्दुले घटाएर ४.१ प्रतिशतमा झारेको थियो । यसअघि जुलाईमा सार्वजनिक प्रक्षेपणमा एडीबीले नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने अनुमान गरेको थियो ।




-1200x5602026-10-07-01-40-19.jpeg)


तपाईको प्रतिक्रिया