पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको अनुसन्धानमा परकम्प

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26
Paschim Today

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौती रहेको भन्दै करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएको घटनाको परकम्प ललितपुरको नख्खु कारागारदेखि सशस्त्र प्रहरी बलको हेडक्वार्टरसम्म पुगेको छ । यसमा बिचौलिया इनाम सापकोटासमेत जोडिएपछि यसको तरंग अन्यत्रसमेत पुग्न सक्ने अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश जबरासँग मिलेर आफ्नो पक्षमा फैसला गराउन चलखेल गरेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारको थुनाबाट सिन्धुपाल्चोकमा स्थानान्तरण गरिएको छ । भट्ट छुटाउन पूर्वप्रधानन्यायाधीश जबरासमेतले चलखेल गरेको आरोप प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको रहेको प्रहरी अधिकृतहरूको भनाइ छ ।

जबरालाई प्रहरी कार्यालय पुर्‍याएर थालिएको अनुसन्धानका क्रममा उनले सापकोटासँग पटक–पटक कुराकानी गरेको खुलेको प्रहरीले जनाएको छ । सापकोटालाई फेला पारेर मोबाइल फोनका विवरण जाँच गर्दा उनीसँग सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकृतहरूको समेत नियमित सम्पर्क रहेको भेटिएको एक अधिकृतले कान्तिपुरलाई बताए ।

नेपाल प्रहरीका उच्च अधिकृतहरूको उनीसँग सामान्य चिनजान र सम्पर्क मात्रै हो कि थप केही भन्नेबारे केही खुलाइएको छैन । आतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धानमा खटिने प्रहरीको विशेष ब्युरोले बुधबार दिउँसो करिब साढे १ बजे सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अमेरिकाको ग्रिनकार्ड भएका उनी केही दिन पहिले मात्र काठमाडौं आइपुगेका थिए । भारतको नयाँदिल्ली जाने तयारीमा रहेका बेला उनी विमानस्थलबाटै पक्राउ परेका थिए । शेरबहादुर देउवा पक्षका केही कांग्रेस नेतासँग समेत उनको सम्बन्ध रहेको प्रहरी अधिकृतहरूको दाबी छ ।

सापकोटाको मोबाइलको जाँचबाट खुलेको विवरणसमेतका आधारमा सशस्त्र प्रहरी बलका अपरेसन विभाग प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरिएको छ । ‘प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीशलाई लगिएका बेला उहाँ राति ३ बजे गई भेटेर ५ बजे फर्किनुभएको रहेछ, कसैलाई जानकारी नदिई त्यहाँ पुगेपछि उहाँबारे छानबिन सुरु भएको थियो,’ गृह मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘प्रहरी कार्यालय गएर पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको थाहा भएपछि अनुमति लिएको, नलिएकोबारे आईजीपी नारायणदत्त पौडेललाई समेत सोधिएको थियो ।’

‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा...’, विज्ञप्तिमा भनिएको छ, ‘...सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लगि मन्त्रालयमा सिफारिस प्राप्त भएकामा उक्त अभियोगमाथि जाँचबुझ गर्न मन्त्रालयको निर्णयानुसार निलम्बन गरी ३ दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

विज्ञप्तिमा मन्त्रालय मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको समेत भनिएको छ ।