Close This

दुन एकेडेमीका दुई शिक्षक सम्मानित,ऐश्वर्याबाट ८२.४ प्रतिशत ल्याएर प्रदेश प्रथम बनेका राजेश

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26
Paschim Today

यशोदा शर्मा,

धनगढी । दुन एकेडेमी धनगढीले दशैंको अवसरमा आयोजना गरेको 'दशैं शुभकामना आदान-प्रदान तथा शिक्षक सम्मान कार्यक्रम' मा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना दुई शिक्षकलाई सम्मान गरेको छ।
एकेडेमीका शिक्षक राजेश बहादुर मल्ल र वीर बहादुर दमाई सम्मानित भएका हुन्। मल्लले ऐश्वर्या बहुमुखी क्याम्पस, धनगढीबाट बीएस्सी चौथो तहमा ८२.४ प्रतिशत अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमै प्रथम स्थान हासिल गरेका हुन्। त्यस्तै, शिक्षक दमाईले पनि बीएस्सीमा प्रथम स्थान हासिल गरेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ मा जन्मिएका मल्लले कक्षा १ देखि ५ सम्म गाउँकै जनता प्राथमिक विद्यालयमा अध्ययन गरेका थिए। त्यतिबेला आफू मध्यम खालको विद्यार्थी रहेको उनले सुनाए। कक्षा ६ देखि १० सम्म डोटीको सीताराम माध्यमिक विद्यालय, उच्चाकोटमा अंग्रेजी माध्यमबाट अध्ययन गरेर आफ्नो पढाइमा क्रमिक सुधार गर्दै लगे।

निरन्तरको मेहनतका कारण कक्षा ९ मा तेस्रो स्थान हासिल गरेका मल्लले कक्षा १० मा भने प्रथम हुने अठोट लिए। आफूभन्दा अग्रज विद्यार्थीलाई ‘फलामे ढोका’ भन्दै एसईईको चर्चा गरेको सुन्दा यो कस्तो हुने रहेछ भनेर उत्साहित हुने गरेको अनुभव उनले सुनाए।
“कक्षा १० मा पढ्दै गर्दा मैले एउटा अठोट गरेँ-आजसम्म तेस्रो स्थानमा आएको छु, अब दशमा सबैभन्दा राम्रो नतिजा ल्याएर प्रथम हुन्छु,” उनले भने।
त्यही संकल्प र मेहनतका कारण उनले एसईईमा ३.६७ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजासहित विद्यालयमा दोस्रो स्थान हासिल गर्न सफल भए।

एसईईपछि विज्ञान विषय अध्ययन गर्ने इच्छा भए पनि पहाडमा विज्ञान विषयको राम्रो अध्ययनको व्यवस्था नभएपछि उनी धनगढी आए। धनगढी आएपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा पूर्ण छात्रवृत्तिमा निःशुल्क अध्ययन गर्ने अवसर पाए।
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण छात्रवृत्ति पाउनु आफ्ना लागि वरदान साबित भएको मल्लले बताए। उनले त्यहीँबाट प्लस टु पूरा गरे।

त्यसपछि ऐश्वर्या बहुमुखी क्याम्पस, धनगढीमा बीएस्सी अध्ययन गर्न थालेका मल्लले पढाइसँगै आफ्नो जिम्मेवारी पनि बहन गर्नुपर्ने सोच बनाए। सोही क्रममा उनी २०८० सालदेखि दुन एकेडेमीमा शिक्षकका रूपमा अध्यापन गर्न थाले।
स्नातक तहको अध्ययनका लागि पनि परिवारमाथि आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उनले टियूअन्तर्गत यूजीसीले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गरे।
स्नातक तहको पहिलो वर्षमा पनि उनको पढाइ मध्यम नै थियो। तर क्रमिक रूपमा सुधार गर्दै तेस्रो वर्षमा तेस्रो स्थानमा पुगे। चौथो वर्षमा सामाजिक सञ्जालमा अन्य विद्यार्थीले उत्कृष्ट अंक ल्याएको देख्दा आफूमा पनि त्यस्तो क्षमता रहेको, आफु पनि केहीँ गर्न सक्छु भन्ने महसुस भएको उनले बताए। भन्छन्,
“मैले चौथो वर्षको सुरुवातदेखि नै प्रथम हुनुपर्छ भन्ने संकल्प राखेर धेरै मेहनत गरेँ,” ।
निरन्तरको मेहनत र अठोटकै कारण उनी ऐश्वर्या बाट ८२.४ प्रतिशत अंक प्राप्त गर्दै आफ्नो क्याम्पससँगै सुदूरपश्चिम प्रदेशमै प्रथम हुन सफल भए।
मल्लले विद्यार्थीहरूलाई आफूले गर्न चाहेको काममा पूर्ण आत्मविश्वास र अठोटका साथ लाग्न सुझाव दिए। “कुनै पनि विषयमा केही गर्ने सोचमा हुनुहुन्छ भने पूर्ण आत्मविश्वास र अठोटका साथ लागेर काम गर्नुभयो भने पक्कै सफल हुनुहुनेछ,” उनले भने।

कार्यक्रममा दुन एकेडेमीका प्रधानाध्यापक रामप्रसाद उपाध्यायले विद्यार्थीहरूलाई दशैं, तिहार तथा छठ पर्वको शुभकामना दिँदै मेहनत र लगनशील भएर अध्ययन गर्न आग्रह गरे।
सम्मानित शिक्षकहरूको मेहनत र लगनशीलताबाट विद्यार्थीहरूले पनि प्रेरणा लिन सक्ने बताउँदै उनले शिक्षकहरू विद्यार्थीका लागि महत्वपूर्ण प्रेरणाको स्रोत भएको बताए।