Close This

देउवा समूहको अधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही हुन्छ : थापा

मंगलबार मङ्सिर ९, २०८३/ Tuesday 11-24-26
Paschim Today

काठमाडौं। कांग्रेस सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा समूहले आयोजना गर्ने अधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को अधिवेशनमा सहभागी हुने जनप्रतिनिधिले पार्टी सदस्यताबारे स्पष्ट निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेसको सदस्यता राख्ने कि अर्को पार्टीको सदस्यता लिने भन्ने रोजाइ सम्बन्धित व्यक्तिकै भएको बताए । एउटै व्यक्ति दुई पार्टीको सदस्य हुन नसक्ने भन्दै उनले पार्टीको अर्को अधिवेशनमा सहभागी हुनेहरूले कांग्रेसको सदस्यता त्याग्नुपर्ने बताए ।‘सदस्यता राख्ने कि नराख्ने च्वाइस हो,’ उनले भने ।

देउवा समूहले आयोजना गर्ने अधिवेशनमा सहभागी हुने सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई लक्षित गर्दै थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएपछि पार्टीको विधान र अनुशासन मान्नुपर्ने बताए । पार्टीको अर्को अधिवेशनमा सहभागी भएर समानान्तर गतिविधिमा लाग्ने तर कांग्रेसकै सदस्यता कायम राख्ने छुट नहुने उनको भनाइ थियो ।

कांग्रेसभित्रको विवादलाई संवादबाट समाधान गर्न आफू तयार रहेको पनि थापाले बताएका छन् । १४औं महाधिवेशन वा विशेष महाधिवेशनमा सहभागी नभएका नेताकार्यकर्तासँग छलफल र संवादको ढोका बन्द नभएको उनको भनाइ थियो ।

‘विवादका विषय कार्पेटमुनि राख्ने कुरै छैन । महाधिवेशनमा भाग नलिएका कार्यकर्ताको पनि यो पार्टी हो । छलफल र संवाद गर्न तयार छु,’ उनले भने, ‘जिम्मेवारीमा लिएर जाने ढोका बन्द भएको छैन ।’

उनले आफूविरुद्ध गुनासो भए सुन्न तयार रहेको बताउँदै असन्तुष्ट नेता तथा कार्यकर्तालाई संवादमा आउन आग्रह गरे । कतिपय नेतामा व्यक्तिगत इगो हुन सक्ने भए पनि त्यसलाई समाधान गर्न कुनै अप्ठ्यारो नरहेको उनको भनाइ थियो ।

थापाले निवर्तमान सभापति देउवाप्रति आफ्नो कुनै व्यक्तिगत गुनासो नरहेपनि मर्यादा राखेर अभिव्यक्ति दिन आग्रह गरे । देउवाले आफ्नो राजनीतिक उचाइ र मर्यादा कायम राख्नुपर्नेमा उनले जोड दिए । पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका देउवा अहिले पनि आफ्नो अभिभावक र नेता रहेको उनले बताए ।  थापाले भने, 'मेरो चिन्ता शेरबहादुर देउवाको हो । जीवनको यो मोडमा आईपुग्दा अग्लो ठाउँमा बस्नुहोस्, तल नझर्नुहोस् भन्ने मेरो आग्रह मात्रै हो ।’

देउवाले विभिन्न सार्वजनिक मञ्चबाट व्यक्त गरिरहेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति भइसकेको नेताले आफ्नो राजनीतिक स्तर कायम राख्नुपर्ने बताए । ‘पाँच पटक प्रधानमन्त्री भएको, दुई पटक सभापति भएको नेताले स्तर कायम राख्नुपर्छ भन्ने मेरो कुरा हो,’ उनले भने ।